अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणीकरण गरेका छन् ।
सभामुख देवराज घिमिरेले सोमवार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाएका हुन् । राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते सो विधेयक राष्ट्रपति पौडेलले संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको उल्लेख गरिएको छ ।
पत्रको ब्यहोरा पढ्दै सभामुख घिमिरेले भने ‘राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको छ । सोको व्यहोरो म पढेर सुनाउन चाहन्छु । सम्माननीय राष्ट्रपतिज्यू श्री रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकका प्रमाणिकृत प्रति थान १ यसैसाथ संलग्न राखी पठाइएको ब्यहोरा अनुरोध गर्दछु । क्रम संख्या १। विधेयकको नाम अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० । प्रमाणीकरण मिति २०८०/१२/१६ ।’
संघीय संसदको दुवै सदनले पारित गरेको पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा लागू गर्ने संवैधानिक व्यवस्था छ ।