राजनीतिक भर्ती केन्द्र बनेको खेलकुद मन्त्रालयलाई सुधार गर्दैछु : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन् ।

शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले खेलको बारेमा जानकारी नभएको व्यक्तिलाई विभिन्न निकायहरुमा नियुक्ति भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाएको बताए ।

उनले खेलाडीहरुलाई पछाडि पार्ने र नियुक्ति गरिएका व्यक्तिलाई बढी पारिश्रमीक दिनेगरी अघि बढिरहेको अवस्थालाई रोकोर आफूले अहिले खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर गरे ।

उनले सरकारी जग्गाहरु हडपेर निजी स्वार्थका लागि आर्थिक उपर्जन गर्ने काममा लागेको पाइएको बताए ।

उनले अन्तर्राष्ट्रिय जगत नेपालको खेल जगतमा काम गर्न तयार रहेको भएपनि नेपालका नीतिहरु र पहिलाका विकृतिहरुले आउन असहजता देखाइरहेको बताए ।

उनले भने, ‘इलामको समस्या के छ ? त्यो खोजेर हामी सबै एक भयौँ भने इलामको समस्या समाधान हुन्छ । समस्या के छ भनेर खोज्नका लागि पर्याप्त मानिस हामी यहीँ छौँ । सिंहदरबार घरघरमा भन्ने नारा छ, जनताको आशा त्यहीअनुसारको छ तर बजेट त्यो अनुसारको नहुँदा तपाईहरुलाई अझ धेरै चुनौति पनि छन् । हामीले हिजोको समस्यालाई आज कुरा गरिरहेका होइनौँ, यो तिसौँ वर्षदेखिको बेथिति यहाँ आइपुगेको हो, हामीले पनि अब के प्रण गर्न सक्नुपर्छ भने अब हामीले काम गरेन भने आगामी पुस्ताले फेरि ३० वर्षपछि यस्तै दुःख पाउँछ । मन्त्रालय कस्तो रहेछ भन्दा म त्यहाँ पुग्दा, राजनीतिक भर्ती केन्द्र जस्तो, खेलको बारेमा थाहै नभएको मान्छे खेलमा जाने, अनि खेलाडीहरु जहिले पनि पछाडि पर्ने, खेलाडीहरुको पारिश्रमीक एकदम कम, तर नियुक्ति भएकाहरुको पारिश्रमीक धेरै, त्यस्ता खालका विकृतिहरु हटाउन काम गर्दैछौँ, कति कारबाही पनि अघि बढाएका छौँ । सरकारी जग्गाहरु एकदम धेरै हडपेर मान्छेहरुले व्यक्तिगत रुपमा चलाएर मोजमस्ती गरिरहेको वा आर्जन गरिरहेको चिजहरुमा कारबाही अघि बढाएका छौँ । भइरहेका कारबाहीहरु अझ सुदृढिकरण गरेर अघि बढेका छौँ । अन्तर्राष्ट्रिय जगत नेपालको खेल जगतमा काम गर्न तयार छ, तर हाम्रा यहाँका नीतिहरु र पहिलाका विकृतिहरुले उहाँहरु आउन सकिरहनुभएको छैन । त्यसको लागि पनि हामीले पहल शुरु गर्दैछौँ ।’

मन्त्री श्रेष्ठले नेपालको खेल जगतमा काम गर्न आउनका लागि अन्तर्राष्ट्रिय जगतलाई उचित वातावरण बनाउने काम भइरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *