‘एचपिभि खोप’ लगाउने समयावधी असोज १० गतेसम्म थपियो

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ ।

किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।

अब असोज ६ गते शनिवारदेखि १० गते वुधवारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो ।

डा.गौतमले खोप लगाउने समयावधिमा शनिवार, शोक बिदा, बाल दिवस, तिज, शिक्षक आन्दोलन लगायतका कारण व्यवधान आएकाले अभियान प्रभावकारी हुन नसकेको बताए । देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरुको संख्या साढे तीन लाख रहेको छ ।

ती मध्ये डेमोष्ट्रेसन (नमूना) स्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ९ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो । खोप वि.सं २०६५ भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशत, मधेसमा ५६ प्रतिशत, वागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बीनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपीभि खोप लगाएका छन् ।

डा.गौतमले भने, ‘एचपिभि खोप डेमोष्ट्रेसन कार्यक्रममा नै छौँ । प्रदेशका सात वटा छानिएका अस्पतालहरुबाट सञ्चालन भइरहेको छ । सबैभन्दा धेरै कोसी अस्पतालबाट ८४ प्रतिशत किशोरीले एचपीभी खोप लगाउनुभएको छ । मधेसमा करिव ५६ प्रतिशत, वागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बीनीमा २८ प्रतिशत,कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशत रहेको छ । नेपालभरको समग्र रुपले हेर्दा पाँच हजार भन्दा बढी किशोरीले खोप लगाइसकेका छन् । त्यो भनेको हामिले ५० प्रतिशत कम्प्लिट गरिसकेका छौँ हिजो सम्मको तथ्याङ्कमा । केही स्थानमा खोपको कभरेज राम्रो भएको छैन । कभरेज नहुनुको कारण चाहीँ एक दिन बिराएर बिदा पनि परेको थियो । शनिवार, शोक बिदा भयो, बाल दिवस भयो, तिज भयो । यस्तो कारणले गर्दा चाहीँ बिदामा त्यती राम्रो कभरेज गर्न सकेनौँ । त्यो कारणले पनि केही किशोरी खोप लगाउनबाट वञ्चित भए । र, अहिले स्कुलपनि हड्ताल छ । स्कुलबाट आउने बच्चाहरुलाई पनि अलिक अफ्ठ्यारो भएको छ । यावत कारणले हामीले पाँच दिन फेरि थप गर्ने निर्णय गरेका छौँ । पाँच दिनमा सम्भवतः सबै जिल्लामा सबै प्रदेशको ठाउँमा नहुन पनि सक्छ । कुनै ठाउँमा छिटै खोप सकिन पनि सक्छ । जस्तैः कोशीमा धेरै राम्रो भइरहेको छ, त्यहाँ छिटै सकिन पनि सक्छ । र, अरु प्रदेशमा चाहीँ खोप थपेर खोप सेसन चलाउने हाम्रो तयारी छ । आजसम्म म्याद थियो । पाँच दिन थप्दैछौँ । तथ्याङ्क हेर्दाखेरी १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरु देशैभर साढे तीन लाख रहेका छन् । तर, हामीसँग खोप धेरै कम थियो । यद्यपी कभरेजहरु इम्प्रुभ हुँदैछ । खोप लगाउने समग्र किशोरीहरु कहाँ छन् भन्दा स्कुलमा छन् । ती स्कुलबाट किन आइपुगेनन् भन्ने पनि प्रश्न हुन्छ । कति अभीभावकहरु काममा जाने त्यसले गर्दा बच्चाहरुलाई खोप लगाउने स्थानमा लिएर आउन नसक्ने पनि देखिएको छ । अर्को स्कुलमा फ्रिक्वेन्टली बिदा भयो । तिज, दर खाने, खोप दिने पनि महिला, दर खानेपनि महिला, हाम्रोमा त धेरै मामाघर जाने चलन छ । त्यो भएको कारण पनि कभरेज कम भयो भन्ने छ । अब पाँच दिनभित्र खोप लगाउन सकिन्छ की भनेर प्रयत्न गरेका छौँ । कतिपयलाई बल्ल थाहा हुँदैछ । शुरुमा धेरैलाई थाहा थिएन । थाह पाएर क्रमशः आउने क्रम पनि जारी छ ।’

सरकारले गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालवाट एचपिभी खोप अभियानको डेमोष्ट्रेसन गरेको थियो ।

कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, वागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *