पूर्वसभामुख ढुङ्गानाको प्रश्न : राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो ?


काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए ।
उनले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए । उनले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिस ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताए । उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो गर्यौ भन्ने ठाउँ नरहेको बताए ।
उनले भने ‘मेरो अनुभवले यो भन्छ की २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ । राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो । राजासँग हामी लडेका थिएनौँ ? बिपी कोइरालाको विचार हेर्नुस् त । उहाँले राजालाई संविधान सभा भित्र बस्छौ की बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो । यो माओवादीले फालेको हो र ? बिपीको विचारले फालेको हो । बिपी फालिहाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिस ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो । त्यसकारण यो माओवादीले फालेको होइन । फालेर राम्रो गर्यो त ? त्यो पो चाहियो छ ।’
कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रूपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताए । उनले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको सङ्घीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताए । उनले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताए ।
उनले संविधान संशोधन जरुरी रहेको र सङ्घीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताए ।
उनले भने ‘संविधान संशोधनको मामिलालाई हामीले ज्यादा नेगेटिभ्ली लियौँ भने यो संविधानको हालत पनि २०४७ सालको संविधानको हालत जस्तै हुन्छ । ०४७ सालको संविधान संशोधन गर्न प्रश्न उठेका थिए नि त । त्यो गरेको भए हुन्थ्यो नि त । त्यो परिमार्जन हुँदै गएको भए त कतिपय अधिकार त्यसमा थिए नि त । २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन बनेको थियो नि त । त्यो स्वायत्त शासनलाई ठिक ढङ्गले लागू गरेको थियो भने सङ्घीयताको प्रश्न उठ्दैन थियो भन्ने मानिस पनि छन् । श्वेत शासन ऐनले सोझै स्थानीय तहमा अधिकार दिएको थियो, अहिलेको भन्दा बढी थियो । तर ती चिजहरूमा संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानको नीतिमाथि प्रश्न उठ्यो । त्यसकारण संविधान संशोधन जरुरी छ । परिमार्जन जरुरी छ । सङ्घीयतालाई अझै पनि परीक्षण गर्न जरुरी छ । जनताको बीचमा जान जरुरी छ ।’
कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताए । उनले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने बताए । उनले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताए । निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहेपनि गणतन्त्र, धर्म निरपेक्ष, सङ्घीयता र अन्य फण्डामेण्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताए ।
उनले भने ‘नेपालको संविधान नै २००४ सालदेखि अहिलेसम्म ७ वटा भइसक्यो । एउटा पनि संविधान नटिकाउने रु त्यसकारण यो संविधान टिकाउनु पर्छ । यसलाई परिमार्जित गर्नुपर्छ । संशोधन गर्नुपर्छ । यसको निम्ति कुनै आयोग गठन गर्न सकिन्छ । निर्वाचन प्रणाली संशोधन हुनसक्छ, गणतन्त्रको बारेमा, धर्म निरपेक्षको बारेमा, सङ्घीयताको बारेमा अथवा फण्डामेण्टल कुराको बारेमा संशोधन हुँदैन । अहिले गर्न सकिँदैन । राष्ट्रपति खराब भयो, पहिलाकै राजा ठिक थियो भन्छन् । राष्ट्रपतिका काममा पनि हामीले विरोध गर्न पायौँ, अहिले पार्टीतिर छन् ।’
उनले माओवादीले त्यसै जनयुद्ध गर्यो भन्ने कुरा उठेको भन्दै माओवादीसँग सम्झौता भएको माया गरेर नभएको बताए । । उनले त्यसबेलामा रहेका सात दलले पनि माओवादीलाई जित्न नसक्दा र राजाले पनि जित्न नसकेको र माओवादीले पनि राजालाई जित्न नसक्दा सम्झौता भएको बताए ।
