विद्यालय शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन गरेको छ : प्रेम सुवाल


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी भएको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको भन्दै शिक्षा विधेयकको विरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताए ।
उनले स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्नेकुरा सङ्घीयता विरोधी भएको बताए । उनले विधेयकमा शिक्षकले राजनीति गर्न नपाउने उल्लेख गरिएको भन्दै अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति भएकाले शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन भएको बताए ।
उनले भने ‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन् । शिक्षा विधेयकको विरोधको नाममा सडक अवरोध भएको छ । विधेयकमा केही विषय आपत्ति जनक भनेको छ । जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने यो सङ्घीयता विरोधी भयो भनेर आएको छ । राजनीति गर्न नपाइने भन्ने लेखेको छ । राजनीति गर्न नपाउने भनेर कतिले ठिक छ भने कतिले ठिक छैन भने । भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो । अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति हो । शिक्षकले त्यति पनि बोल्न नपाउने भए यो विधेयक ब्यालेन्स भएन । त्यसकारण यो सङ्घीयता विरोधी भयो । अर्को राजनीतिको नाउँमा वाक स्वतन्त्रता पनि हनन हुने खालको भयो ।’
सांसद सुवालले शिक्षकहरूले भ्रष्टाचार गर्नु हुँदैन, अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्नेकुरा पनि राजनीति भएको बताए ।
