असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक क्रियाकलाप चलायमान बनाउने अपेक्षा

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तीव्र पारिएको जानकारी दिएको हो ।

‘के हामी आत्मनिर्भर छौँ ?’ भन्ने मुख्य थिम सहित आयोजना हुने एक्स्पोको उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन् ।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म ५ दिन एक्स्पो आयोजना हुने जानकारी दिएको हो ।

यस अघि नै आयोजकले फर्नेक्सको इभेण्ट लन्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भइसकेको एसोसिएसनले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको सङ्घका अध्यक्ष दिनेश अग्रवालले बताए । ‘आर्थिक गतिविधिहरू सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ,’ अध्यक्ष अग्रवालले भने ।

उनका अनुसार एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ । मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सङ्घले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले यो अभियानलाई सहयोग गरिरहेको भए पनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार बिस्तार चुनौतीपूर्ण भएको अग्रवालको भनाई छ ।

‘अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा आयातित वस्तुको मात्र बढ्ने हो कि भन्ने चिन्ता एशोसिएशनलाई लागेको छ,’ अग्रवालले भने, ‘एक्स्पो आयोजना हुँदैगर्दा सरकारलाई निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न एसोसिएसन आग्रह गर्दछं ।’

एक्स्पोमा १०० भन्दा बढी स्टलहरू रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एसोसिएसनका महासचिव सञ्जय लामाले बताए ।

‘ग्राहकहरू लाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामाग्रीहरू उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने विश्वास लिएका छौँ’ महासचिव लामाले भने, ‘साथै फर्निचर र फर्निसिब सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरूलाई साझा प्लेटफर्म प्रदान गर्ने भएकाले उद्योगी तथा व्यवसायीका लागि एक्स्पो साझा प्लेटफर्म बन्ने विश्वास छ ।’

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिब क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवर्द्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन हुनेछ ।

फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरूलाई समेटेर बृहत् र भव्य रूपमा आयोजना हुन लागेको एक्स्पोलाई किब कोयल ले शीर्ष प्रायोजन गरेको छ । त्यसै गरी एक्स्पोको इन एसोसिएसन विथमा प्रेष्टिज कार्पेट रहेको छ भने पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्निचर तथा फर्निसिब व्यवसायी महासङ्घले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर,
फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् ।

इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लबसे, भिवोन चियर र वेबट्युन रहेका छन् । ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरूको सहभागिता रहनेछ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पोस्थलमा नै वास्तु तथा
इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।

साथै एक्स्पोमा सहभागी हुने व्यवसायीहरूले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।

फर्निचर तथा फर्निसि क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि सन् २०१२ देखि आयोजना हुन थालेको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल( लोकप्रिय ब्रान्डको रूपमा स्थापित भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *