प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको छः महानिरीक्षक कुँवर


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताए ।
उनले सिमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताए ।
त्यस्तै प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यवसायिक ढंगले काम गरिरहेको उल्लेख गरे । उनले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पारे ।
महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताए । प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरुले पनि अवसर पाएको उनको भनाई छ ।
उनले भने – ‘नेपाल प्रहरीले गर्ने काम, कारबाहीले राज्यको अनुहार देखिने भएको कारणले प्रहरीलाई सकेसम्म सेवा प्रवाहमा नागरिकमैत्री बन्ने, सिमान्तकृत वर्गप्रति सेवाग्राहीमैत्री भएर, अलिकति सहज भएर उनीहरुको समस्याप्रति कसरी सहजीकरण गर्न सकिन्छ भन्ने प्रयत्न राखेर प्रहरीले काम गरेको छ । यसको लागि सबभन्दा ठुलो कुरा त नागरिकमैत्री प्रहरी, व्यवहार सुधार गर्ने कुरा र सबै किसिमको शुन्य सहनशिलता । जस्तै ः बेला बखतमा प्रहरीलाई लाग्ने गरेका दोषहरु, आर्थिक अनियमितताका कुराहरु देखि लिएर अरु धेरै कुराहरुलाई विशुद्ध रुपमा सुधार गरेर जाने सन्दर्भमा पहिला हामी आफू ठिक हुनुपर्छ । आफुभित्रको समस्या समाधान गर्नुपर्छ । हामी विशुद्ध व्यवसायिक बन्नसक्यौँ भने नागरिकमा सेवा प्रवाह गर्न सकिन्छ । राज्यप्रतिको विश्वास बढ्नसक्ने अवस्था हुन्छ भन्ने हिसाबले हामीले गर्नुपर्ने कामहरुको दुई वर्षे कार्ययोजना बनाएर, १४ वटा लक्ष्य तोकेर त्यसभित्र ११३ वटा विभिन्न कार्यक्रम बनाएर गएको अवस्था छ । अहिले हामीले प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यालय सहयोगीसम्म मापदण्ड स्वीकृत गरेर त्यो अनुसार विधिमा गएका छौँ त्यसको छनक राम्रो छ । जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्रै अवसर पाउने अवस्थाको कारणले समस्या आएको थियो यो कारणले पनि प्रहरीको मनोबल बढेको छ र अहिले जो ढोका चहार्न सक्दैनन् । जो शक्तिमा हुँदैनन् । जो पहुँचमा जान सक्दैनन् ति व्यक्तिहरुले स्थान पाएको अवस्था छ ।’
महानिरीक्षक कुँवरले प्रहरी समक्ष आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताए ।
उनले वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गर्नुपर्ने बताए । त्यसको निम्ति राज्य गम्भिर हुनुपर्ने उनले बताए ।
उनले भने – ‘अहिले सबभन्दा बढी इस्यु भनेको आर्थिक क्षेत्रको इस्यु छ । वित्तिय समस्यासँग, सहकारीसँग र यसैसँग जोडिएका समस्याहरु छन् । करिव २५ प्रतिशत मुद्दाहरुले गर्दा हामीलाई समस्या आएको छ । हामीले भनिरहेका छौँ यसको लागि छुट्टै किसिमको वित्तिय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छ भनेर पहल सुरु गरेका छौँ । यसका लागि राज्य गम्भिर बन्नुपर्छ ।’
त्यसैगरी बैठकमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डिजिटल कन्सेप्टका साथ सीमा सुरक्षा गर्न बजेट पर्याप्त भएमा सीमानाको सुरक्षा गर्न र राजश्व चुहावटलाई रोक्न सहज हुने बताए ।
उनले अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सीमानाको रुपमा हेर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बललाई परिचालित गरेमा तस्करीका कामहरुलाई नियन्त्रण गर्न सकिने उनले बताए ।
उनले भने – ‘उनीहरुको(भारत) बोर्डर रोड छ उनीहरुलाई पट्रोलिङ गर्न सजिलो छ । हाम्रो जमिनी भू–भागले गर्दाखेरी पट्रोलिङ गर्न गाह्रो छ । कभर गर्नलाई समस्या छ । यसको लागि डिजिटल कन्सेप्ट ल्याएर डिजिटलको काम गर्दैछौँ । त्यसको लागि बजेटहरु पर्याप्त मात्रामा भयो भने सीमानामा सुरक्षा गर्ने र राजश्व चुहावटका कामहरु रोक्नलाई सहयोग हुन्थ्यो । अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सिमानाको रुपमा हेरेर अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सशस्त्र प्रहरी बललाई परिचालित गर्न सकियो भने तस्करीका कामहरुलाई नियन्त्रण गर्न सकिन्थ्यो जस्तो मलाई लाग्छ ।’
उनले लागुऔषध, सिमा अपराध लगायतका विभिन्न कामहरु सशस्त्र प्रहरीले गर्नुपर्ने भएकाले २६ वटा ऐनमा सशस्त्र प्रहरी बलको भुमिका तोकिनुपर्ने अवस्था रहेको पनि बताए ।
