शेखर समूहले भन्यो– पार्टीलाई कार्ययोजना अनुरुप नै चलाउ

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला समूहले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्नेमा जोड दिएको छ ।

मंगलवार बालुवाटारमा बसेको डा. कोईराला पक्षधर नेताहरुको बैठकले पार्टीलाई अघिल्लो केन्द्रिय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो ।

काँग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेण्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए÷नभएको समिक्षा गर्दै सो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रिय समिति बैठकको एजेण्डाको विषयमा छलफल केन्द्रित भएको बताए ।

उनले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्वन गरेको कार्यतालिकालाई अवरुद्ध गर्नु नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरुको मत रहेको बताए ।

उनले आगामी दिनमा हुने पार्टीको नीति अधिवेशनलाई व्यवस्थित गर्नका लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि छलफल भएको जानकारी दिए ।

पार्टीको आगामी १५ औँ महाधिवेशनको तयारीको सम्बन्धमा पनि छलफल भएको नेता बडूले बताए ।

उनले भने– ‘सांगठनिक रुपमा कार्यतालिका र कार्ययोजना अनुसार पार्टी अगाडी बढीरहेको छ । एकचरणको कार्यक्रम पूरा भइसकेको छ । अब यसको समिक्षा गर्नुपर्छ र कार्यतालिका र कार्ययोजनालाई निरन्तर रुपमा अगाडी बढाउनुपर्छ । त्यसले नै पार्टीलाई चलायमान बनाउँछ । सबै संरचनालाई चलायमान बनाउनुपर्छ त्यसलाई कुनै किसिमले अवरुद्ध गर्न दिनु हुँदैन । नीति अधिवेशनको रुपमा महासमिति बैठक बोलाउने कुरा गरेका छौँ । महासमिति बैठकलाई व्यवस्थित गर्नका लागि के–कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा भयो । उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियौँ । समयमा हाम्रो १५ औँ महाधिवेशन शुरु गर्नुपर्ने हुन्छ । त्यसका निमित्त पनि हामीले आवश्यक तयारी र क्रियाशील सदस्यताको वितरणको कुरा र त्यसको अध्यावधिक रेकर्डहरु के छ त्यसलाई हेर्नुपर्छ । पछिल्लो कार्यसमितिबाट पारित गरिसकेको कार्ययोजना र कार्यतालिका त्यसको समिक्षा हुनुप¥यो । कति कार्यान्वयन भयो कति भएन । के कमि रह्यो ? र त्यसलाई कसरी सुधारेर जाने भन्ने नै मुख्य विषय त्यो नै हो ।’

नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै सरकारको कामको सम्बन्धमा पनि पार्टी केन्द्रिय समिति बैठकमा समिक्षा हुने बताए ।

बैठकमा डा. शेखर कोईरला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *