सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

काठमाडौं । हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल शुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गत भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथी अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो ।

कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले पक्रिने सुनिश्चितता नहुँदासम्म देशभरका स्वास्थ्य संस्थामा आकस्मिकक बाहेकका सेवा बन्द रहने बताए ।

उनले आफूहरुले बुँदागत रुपमा विषयहरु राखेको भन्दै सरकारले दोषीलाई पक्राउ गर्ने सुनिश्चितता गर्नुपर्ने बताए । कार्कीले छलफलको मुख्य विषयमा कुरा मिल्न नसकेको जानकारी दिए ।

डा.कार्कीले भने, ‘७२ घण्टा कटेपछि स्वास्थ्य सेवा आकस्मिक बाहेक बन्द गरेकोमा नेपाल सरकारले स्वास्थ्य मन्त्रीको पहलमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिबको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । त्यसमा गृह, कानुन, प्रधानमन्त्री कार्यालयको सहसचिव ज्यु र हाम्रो तर्फबाट म लगायतको टिम छौं । हामीले बुँदागत रुपमा छलफल गरेका छौँ । तर, छलफलको मुख्य जडमा केही कुरा मिलिरहेको छैन । उहाँहरुले दोषिहरुको खोजि कार्य राज्यले तिब्र गतिमा गरिरहेको छ भन्नुभएको छ । हामीहरुले पक्रिने सुनिश्चितता के हो त ? त्यसको आधार के हो त भनेर भनिरहेका छाँै । पक्रिदिए अरु कुरामा अगाडी बढेर जानसक्छौँ भन्ने हाम्रो कुरा हो । उहाँहरु चाहीँ खोजेर नसकिएको हो भन्नेमा हुनुहुन्छ । भविष्यमा पनि यी सबै घटनाहरु हुँदाखेरी राज्यले आफ्नो दायित्व सम्झेर गर्दिनुप¥यो भन्ने कुरा गरेका छौँ । हामीले स्वास्थ्य सुरक्षाका कुराहरुपनि उठाएका छौ । हाम्रो अडान मान्छे सकभर तुरुन्त पक्रिओस भन्ने अडान हो ।’

संघको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थामा ओपीडि सेवा बन्द छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *