टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन्।
लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले सो कुरा बताएका हुन्।
‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छु। यद्यपि यसका लागि धेरै पैसा लाग्छ। हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं। उहाँहरुबाट सकरात्मक जवाफ आएको छ,’ उनले भने।
यसका लागि पत्रको आदान प्रदान भइसकेको उनले जानकारी दिए।
‘पत्रको आदान–प्रदान भइसकेको छ। यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो। हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं। प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ,’ उनले भने।
प्रारम्भिक यसको अध्ययन भइसकेको जानकारी दिनु हुँदै उनले अघि थपे, ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ। सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो। धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ। अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ।’
निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी उनले दिए।
‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ। निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ,’ उनले भने।
पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने मन्त्री डा. महतले बताए।
‘यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ। पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ। यसले नागरिकको आम्दानी बढाउने छ। हामीले खोजेको त्यही हो,’ उनले भने।
यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उनले बताए।
‘ढिकुरे र सिम्ला सिँचाइ आयोजना अर्को महत्वपूर्ण पक्ष हो। यो आयोजना बनेको धेरै भयो। पटक पटक मर्मत भयो। पुनः मर्मतका लागि यसपटक पुग्ने गरी बजेट विनियोजन भएको छ। गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ हामीले ठेक्का प्रकृया अगाडि बढाइसकेका छौं। यो कार्यान्वयन भएपछि यातायातमा सुधार हुन्छ’, उनले भने।
आफू ऊर्जा वा परराष्ट्रमन्त्री हुँदा नुवाकोटलाई कसरी समृद्ध बनाउने र यहाँको जनजीवनलाई कसरी माथि उठाउने भनेर काम गर्दै आएको उनले जानकारी दिए।
‘अहिले सबै ठाउँमा बिजुली पुगेको छ। मध्य पहाडी राजमार्ग नुवाकोट हुँदै जान्छ’ मन्त्री डा. महतले भने, ‘चीनसँग जोडिने रसुवागढी नाकाबाट काठमाडौं जोड्ने सडकलाई स्तरोन्नति गर्ने र छहरे–टोखा सुरुङ मार्गमार्फत् अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएर नुवाकोटलाई काठमाडौं नजिक पुर्याउने योजना छन्। नुवाकोटमै बसेर काठमाडौंमा व्यवसाय गर्न सकिने वातावरण बनाउन म रातदिन खटिरहेको छु।’
