एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी व्यापक हेरफेर, यस्तो छ उपाध्यक्षदेखि सदस्यसम्मको नयाँ जिम्मेवारी


नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । शुक्रबारको बसेको सचिवालयको बैठकले अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी नयाँ तोकेको हो।
नयाँ जिम्मेवारी अनुसार वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजनको जिम्मा दिएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार अब उनीहरुले साझा नीति बनाउने, सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने काम गर्नेछन्।
योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ।
पूर्वाधार र विकास सुरेन्द्र पाण्डे, कृषि उद्यमशीलता रामबहादुर थापालाई, सामाजिक विकाससम्बन्धी काममा अष्टलक्ष्मी शाक्य, मानवस्रोत युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाह सुवास नेम्वाङ, प्रशासनको जिम्मा विष्णु पौडेलले पाएका छन्।
एमालेले पार्टी सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ।
सुदूरपश्चिममा छविलाल विश्वकर्मा, कर्णालीमा लेखराज भट्ट, लुम्बिनीमा पद्मा अर्याल, गण्डकीमा गोकर्ण विष्ट, मधेस योगेश भट्टराई, कोशीमा रघुवीर महासेठ तोकिएका छन्।
बागमतीको केन्द्रीय कार्यालयले नै संयोजन गर्ने भएको छ।
पार्टी केन्द्रीय संगठनको जिम्मेवारी काशीनाथ अधिकारी र प्रचारको जिम्मा राजेन्द्र गौतमले पाएका छन्। एमालेले स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको छ।
स्कुलिङ, प्रचार र संगठनका लागि एक गाउँपालिकामा एक केन्द्रीय सदस्य पठाउने गरी संयोजनको जिम्मा दिइएको ज्ञवालीले बताए।
त्यसैगरी एमालेले विभिन्न पार्टीबाट आएका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। केन्द्रीय सदस्यमा मनोनीत हुनेमा एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेसहित रहेका छन्।
