नापतौल कार्यालयका अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी

काठमाडौं । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो ।

यादवले सरकारी सेवामा प्रवेश गरेदेखिको २४ वर्षको अवधिमा गरेको वैधानिक आम्दानी र कुल खर्च, लगानीसहित सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिएको आयोगको प्रवक्ता भोला दाहालले बताउनुभयो ।

आयोगका अनुसार यादव २०४६ साल जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । गत असारसम्ममा यादवको कुल खर्च एवं लगानी ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपियाँ १२ पैसा खर्च रहेको पाइएको छ । जबकि, यादवको वैधानिक आय २ करोड ७७ लाख २२ हजार ५० रुपियाँ ४६ पैसा हुनुपर्ने आयोगको अनुसन्धानले देखाएको छ ।

निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादात्म्यता देखिन नआई ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपियाँ २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन नसकेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।

यादवउपर ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपियाँ २६ पैसा बिगो कायम गरी कैद तथा जरिवानाको सजाय गरी पाउन मागदाबी लिइएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *