नामाकरणविरूद्ध आन्दोलनका मृतक लाजेहाङका परिवारलाई प्रदेश सरकारले तीन लाख दिने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरूद्ध ५ चैतमा विराटनगरमा भएको विरोध कार्यक्रमका क्रममा घाइते भई १० चैतमा ज्यान गुमाएका पदम लिम्बु लाजेहाङको परिवारलाई तीन लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ ।

मृत्यु भएका लाजेहाङप्रति दुःख व्यक्त गर्दै तत्काल राहत स्वरूप मृतकका परिवारलाई तीन लाख उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए । नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

लामो समयपछि बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नामकरणमा भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरू, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएका दुई वटा संशोधन विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई संसोधनका लागि विधेयक पेस गर्न स्वीकृत प्रदान गरेको सिटौलाले बताए ।

त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपूरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको निर्देशकको रिक्त पदमा अर्को व्यवस्था नहुन्जेल प्रदेश सचिव कृष्ण सापकोटालाई निर्देशकको जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *