भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो

काठमाडौँ । भूकम्पले टर्की र सिरियामा खतरनाक विनाश निम्त्याएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । अहिलेसम्म २८ हजार १९२ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या ८० हजार नाघेको छ ।

टर्कीका ८ प्रान्तबाट लुटपाट गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । जसमध्ये ४२ जना हातय प्रान्तका छन् । टर्कीमा ६२ जना निर्माण ठेकेदारलाई पनि पक्राउ गरिएको छ । अडाना सहरमा भूकम्पका कारण भत्किएका भवनहरूलाई ध्यानमा राखेर कारबाही गर्न निर्देशन दिइएको छ ।

अर्कोतर्फ, संयुक्त राष्ट्र संघको सहायता पठाउने इकाईका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्पबाट मृत्यु हुनेको संख्या दोब्बर हुनसक्ने बताएका छन् । भग्नावशेष सफा गरेपछि शव निकालिने बताइएको छ ।

अर्को तर्फ, सिरियामा समयमै सहयोग पुग्न सकेको छैन । यसको कारण भूकम्पपछि सडकमा थुप्रिएको फोहोर हो । हरेम सहरमा एक बुबाले आफ्नी छोरी भग्नावशेषमुनि गाडिसकेको तर कसैले सहयोग नगरेको बताए ।

अबु अलीले भने- ‘भूकम्प गएको एक दिनसम्म पनि मेरी छोरी जीवित थिइन् । भग्नावशेषमा पुरिएको २४ घण्टा बितिसक्दा पनि सहयोग पुग्न सकेन । हामीसँग भग्नावशेष हटाउने मेसिन थिएन । हामी मद्दतको लागि पर्खिरहेका थियौं । धेरै समय बितिसक्यो । मैले आफ्नै हातले उसको शव निकालेँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *