रविको आक्रामक आरोप : नेपाली सञ्चारगृहका लागि गम्भीर चुनौती

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही मिडिया, मिडिया सञ्चालक र सम्पादकमाथि गम्भीर आरोप लगाउनुभएको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा आयोजित विशेष पत्रकार सम्मेलनमा सभापति लामिछानेले केही मिडियामाथि गम्भीर आरोप लगाउनुभएको हो ।

लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिनुभयो । उहाँले नेपालका मिडियाहरूले सिण्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै तीव्र आलोचना गर्नुभयो । उहाँले केही पत्रिका र अनलाइनको नामै तोकेर विभिन्न गम्भीर आरोप लगाउनुभयो । आफूलाई स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै तथानाम लेख्ने केही सञ्चार माध्यमले नै गम्भीर अपराध गरेर लुकाएको उहाँको आरोप छ ।

केही मिडिया र तिनका सम्पादकको नामै तोकेर आक्रोशित रूपमा प्रस्तुत हुनुभएका लामिछानेले मिडिया र सम्पादकको ‘मुकुण्डो’ उतारिदिने चेतावनीसमेत दिनुभयो । ‘यहाँ सिण्डिकेट स्थापित गर्ने यहाँका मिडियाहरू हुन् । उनीहरूले बार्गेनिङ गर्छन्,’ लामिछानेले भन्नुभयो, ‘तिनलाई खुसी नपारी केही गर्नै सकिँदैन, गर्नै पाइँदैन । कान्तिपुरलाई दाम नचढाइ यहाँ बाँच्न पाइन्न । तिनैले स्वार्थ बाझिने कुरा गर्छन् । कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट, कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट । कन्फ्ल्क्टि अफ इन्ट्रेष्टको राम्रो व्याख्या गर्ने हो भने गरौँ त ? नेपाली मिडियाको कन्फ्ल्क्टि अफ इन्ट्रेष्टको व्याख्या गर्ने आँट कसैको छैन ।’ उहाँले केही मिडियाले गरेको भनिएका बार्गेनिङबारे पनि कुरा उठाउनुभयो । त्यस्तै, केही मिडिया सञ्चालक र तिनका आफन्तले गरेको अपराधबारे समेत टिप्पणी गर्नुभयो ।

सभापति लामिछानेले पत्रपत्रिकाहरूले आफूलाई चारैतिरबाट प्रहार गरेको समेत बताउनुभयो । ‘मैले चार वर्षअघि सार्वजनिक रूपमा भनेको कुरालाई पत्रपत्रिकामा मुख्य हेडलाइन बनाएर छापिने ?,’ उहाँले भन्नुभयो, ‘चार वर्ष पहिलेको कुरालाई निरन्तर हेडलाइन जुन पत्रपत्रिकाले नियमित ढंगले मलाई प्रहार गरे । मिडिया छ भन्दैमा एउटा मान्छेलाई बिनाकारण पेलिरहने होइन ।’

चुनाव लड्न चुनौती
उहाँले मिडियाका मालिक र १२ भाइ सम्पादकको काम नै आफूलाई खेद्ने भएको बताउनुभयो । ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे,’ उहाँले भन्नुभयो, ‘१२ जना पत्रकार जम्मा भयो, एक ठाउँमा बस्यो, रक्सी खायो, यो लेखौँ भन्यो, लेख्यो । मलाई चरित्रहीनसमेत बनाएर हेडलाइन राखिएको छ । सम्पादकहरूको वास्तविक हैसियत र मुकुण्डो म देखाइदिन्छु ।’

लामिछानेले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिनुभयो । उहाँले देश चलाउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौती दिनुभयो । ‘मिडियाले चाहे मात्र चलाउने ? देश चलाउने हो भने चुनाव लड्न आउनुस् । चितवन २ मा मसँग चुनाव लड्न आउनुस् । कैलास सिरोहिया, रामेश्वर थापा, अमित ढकाल, शिव गाउँले आउने होकि को-को आउने हो आउनुस् । देश तपाईंले चलाउने होइन आफ्नो मिडिया चलाउने हो ।’ आफू कुनै सञ्चार माध्यमसँग नडराउने उहाँको भनाइ छ ।

गलत समाचार लेखे कार्यालय घेर्ने चेतावनी
लामिछानेले आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिनुभएको छ । तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले गलत समाचार लेखे आफ्ना समर्थक लिएर कान्तिपुर घेर्न पुग्ने उहाँले चेतावनी दिनुभयो । गलत समाचार लेख्ने मिडियालाई आफूले आफ्नो तरिकाले कारबाही गर्ने लामिछानेको चेतावनी थियो । –हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *