हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर

काठमाडौँ, नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको आज ९५ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पीडित उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जबराले अर्थतन्त्र, समाज, कुटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउन सफल भएको छ ।

पिता जर्नल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मेका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका थिए । सन् १९५० मा अर्थ मन्त्रालयको सचिवका रूपमा काम सुरु गरेका जबरा सन् १९५१ मा नेपाल बैंकमा महानिर्देशक भए । उनले सन् १९५६ मा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका साथै सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर÷प्रोजेक्ट अफिसरका रूपमा काम गरे ।
जबराले युएनडिपीमा रहेर सन् १९६४–१९७२ सम्म श्रीलङ्का र अफगानिस्तान, सन् १९७२–१९७७ सम्म म्यानमारमा, सन् १९७७–१९८१ सम्म इन्डोनेसिया र सन् १९८१ देखि १९८६ सम्म पाकिस्तानमा काम गरेका थिए । साथै उनले राष्ट्रिय विकास परिषद् सदस्य, गोर्खा ब्रुअरीको अध्यक्ष, हिमालयन बैंकको संस्थापक तथा अध्यक्ष, नेपाल विद्युत् प्राधिकरणको बोर्ड सदस्य, नेपाल इन्टरनेशनल सेन्टरको अध्यक्ष, निर्धन उत्थान बैंकको अध्यक्ष, देव शमशेर जबरा सन्तति प्रतिष्ठानको कोषाध्यक्ष, नेपाल उद्योग परिसङ्घको सल्लाहकारका साथै विभिन्न सङ्घ तथा संस्थासँग आबद्ध थिए ।

राजनीतिमा प्रवेश

सन् १९४४ मा अध्ययनका लागि भारतको बम्बई पुगेका जबरा त्यहाँ बस्दा राजनीतिप्रति रुचि बढिसकेको थियो । भारतमा महात्मा गान्धीको नेतृत्वमा अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ अभियान बढ्दै थियो । बम्बईमा उनी छात्रवासमा बसे। नेपाल र भारतमा भइरहेको राजनीतिक उथलपुथलका कारण उनी राजनीतिमा आकर्षित भएका थिए ।
जबराले २००५ सालमा प्रजातान्त्रिक कांग्रेसको सदस्यता लिएर २००७ सालसम्म भूमिगत भइ काम गरे । भारतमा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि उनी नेपाल फर्के । नेपालमा प्रजातन्त्र आइसकेपछि जबरा नेपाल फर्केका हुन् ।

पहिलो अर्थ सचिव

नेपाल फर्केपछि जबराको भेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरसँग भयो । प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका निर्वाह गरेका सुवर्ण धनी पनि थिए । उनलाई अर्थ मन्त्रालयमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्ति चाहिएको थियो । तत्कालीन समयमा स्नातकोत्तर उत्तीर्ण गर्ने मुलुकमा जम्मा चार जना थिए ।

अर्थशास्त्रमा जबरा, लीलाप्रसाद लोहनी र परीक्षितनरसिंह राणा तथा वाणिज्यशास्त्रमा कृष्णराज भण्डारी स्नातकोत्तर उत्तीर्ण थिए। उनीहरू चार जनाले नै २००७ साल फागुनदेखि अर्थ मन्त्रालयमा काम गर्न थालेका थिए । काम थालेको दुई महिनामा कार्यसम्पादनका आधारमा जबरा अर्थ सचिव भए । उनले प्रथम अर्थ सचिवका रूपमा २०१२ सालसम्म काम गरे।

पहिलो बजेट

जबरा अर्थ सचिव भएपछि पहिलो पटक बजेट ल्याइएको थियो । तत्कालीन समयमा आम्दानीको स्रोत मालपोत कार्यालयमा आकाशवाणीबाट सन्देश पठाएर आम्दानीको विवरण सङ्कलन गरिएको थियो । पहिलो बजेट सुवर्ण शमशेरसँग मिलेर बनाएपछि उनले त्यसपछिका तीन बजेट आफैँले बनाए ।

कर फिर्ताको प्रस्ताव

विसं २००८ मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा अर्थ सचिव जबरा पनि सँगै थिए। उनले भ्रमणका क्रममा भारतीय नेताहरूसमक्ष त्यहाँ उत्पादन भई नेपाल ल्याइने वस्तुमा भारतले पहिले नै कर लिइसकेकाले नेपालीहरू दोहोरो करको मारमा परेको विषय उठान गरिएको थियो । उक्त प्रस्ताव कार्यान्वयन हुन चार वर्ष लाग्यो । फलस्वरूप भारत सरकारले पहिले उठाएको कर रिफन्ड गर्न थाल्यो र नेपालले वार्षिक रू तीन करोड प्राप्त गर्न थाल्यो ।

नेपाल राष्ट्र बैंक स्थापना

तत्कालीन अर्थ परामर्श दाता सरदार गुँजमान सिंहले जबरालाई एक दिन याट्खास्थित घरमा बोलाए र केन्द्रीय बैंक स्थापना गर्ने योजना सुनाए । तत्कालीन राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंकको नामले केन्द्रीय बैंक स्थापना गर्ने निर्णय गरिसकेको र बैंकको ऐन मस्यौदा बनाउन र गभर्नरको प्रस्ताव जबरासमक्ष आयो ।

जबराले प्रस्ताव स्वीकार गर्दै भारत, अष्ट्रेलिया, क्यानडालगायत मुलुकमा भएको केन्द्रीय बैंकको ऐन अध्ययन गरी राष्ट्र बैंकको स्थापनाको काम सुरु गरे । गभर्नरका रूपमा तलब मासिक आठ सय हुन्थ्यो । तत्कालीन समयमा अर्थ मन्त्रालयको बुँइगलबाट सबै काम हुन्थ्यो । सुरुमा कुर्सी र टेबुल नहुँदा सबै जना गद्दरमा बसेर काम गर्नुपरेको थियो ।

राष्ट्र बैंकको स्थापनापछि गोविन्दप्रसाद लोहनी अनुसन्धान विभाग प्रमुख र रामराज तुलाधर बैंकिङ कार्यालय प्रमुखमा नियुक्त भएका थिए । सुरुमा हालको विशाल बजार नजिकको एउटा घर भाडामा लिई केन्द्रीय कार्यालय स्थापना गरिएको थियो । बैंकिङ कारोबारका लागि मुलुकीखाना र कौसी तोपखाना उपलब्ध भयो भने नोट विभागका लागि केन्द्रीय कार्यालय नजिकको अर्को घर पनि भाडामा लिइएको थियो ।

नेपाली नोटको चलन र सटही दर

तत्कालीन समयमा तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन । मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो । यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो । यसका लागि तीन वर्षसम्म जबराले काम गरेका थिए ।
नेपाली मुद्रा र भारतीय मुद्राको सटही दर स्थिर नहुँदासम्म नेपाली मुद्रा चलनचल्तीमा ल्याउन गाह्रो हुने निष्कर्षपछि जबराको पहलमा इलामदेखि पश्चिमसम्म विभिन्न सटही केन्द्र सुरु गरिएको थियो । तीन वर्षको अध्ययनपछि भारतीय १०० बराबर नेपाली मुद्रा रू १६० कायम हुने गरी सटही दर निर्धारण गर्ने सहमति भयो । जुन आजसम्म पनि कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *