ओलीले भने– पुस १० अघिकाे निषेधको राजनीति उत्तानो पर्‍याे, सहमति जप्न थालिएको छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पुस १० अघिसम्म निषेधका राजनीतिक गरिरहेका दलहरु नै अहिले सहमतिको नारा लगाउन थालेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै उनले यस्तो बताएका हुन् । खासगरी नेपाली कांग्रेसलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

‘पुस १० गतेअघिको निषेधको राजनीतिक अहिले उत्तानो परेको छ, अहिले सहमति भन्न थालिएको छ,’ उनले भने ।

लोकतन्त्र, स्थायित्व, आर्थिक सामाजिक विकास, विधिको शासनलगायतका विषयमा सहमतिको राजनीति गर्न एमालेलाई समस्या नहुने उनले बताए ।

नेपाली कांग्रेस प्रतिपक्षमा बस्नै नसक्ने जस्तो गरेर सत्तामा जान मरिहत्ते गरिरहेको भन्दै सत्तामा रहेका दलका नेताहरुलाई अनेक प्रलोभन दिन थालेको उनले बताए । यसले देशमा राजनीतिक अस्थिरता निम्त्याउने र आर्थिक संकट अझ भयाबह हुने उनले बताए ।

‘संघीय गणतन्त्रका ७ वर्षमा कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न पाएका छैनन्,’ उनले भने, ‘वर्षैपिच्छे नयाँ प्रधानमन्त्री बनेका छन् ।’

आर्थिक परिसूचकहरु सबै नकारात्मक रहेकोले अहिलेको अवस्थामा सत्तामै जान जे पनि गर्ने प्रवृत्ति त्याग्नु पर्ने उनले बताए । खास गरी नेपाली कांग्रेस सरकारमा रहेका बेला आर्थिक सूचकहरु नकारात्मक बनाइएको आरोप लगाउँदै उनले त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *