एमालेलाई २० स्थानमा हराएको नेकपा एसको दाबी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६५ क्षेत्रमध्ये २० सिटमा नेकपा एमालेलाई हराउन आफू निर्णायक बनेको निष्कर्ष नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले निकालेको छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेलाई २० स्थानमा हराउन निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ।

प्रतिवेदनअनुसार तेह्रथुम १, भोजपुर १, खोटाङ १, मोरङ १, सुनसरी ४, उदयपुर १, रौतहट १ र ४, धादिङ १, काठमाडौं १०, भक्तपुर २, दोलखा, पूर्वी नवलपरासी २, दाङ २, मुगु, दैलेख १ र २, बझाङ, कैलाली ४ र ५ मा नेकपा एसले एमालेलाई पराजित गर्न निर्णयक भूमिका खेलेको हो। नेकपा एसले समानुपातिकतर्फ प्राप्त गरेको मत एमालेले नपाई प्रतिस्पर्धीले पाएको हुँदा ती २० क्षेत्रमा एमाले पराजित भएको उल्लेख छ। नेकपा एसले पाएको समानुपातिक मत मात्र एमालेमा गएको भए ती सिटमा एमालेका उम्मेदवार सहजै विजयी हुने अवस्था रहेको प्रतिवेदनमा बताइएको छ। तीमध्ये रौतहट १, दैलेख १ र बझाङमा नेकपा एसका उम्मेदवार विजयी भएका थिए।

२० क्षेत्र ताप्लेजुङ १, पाँचथर १, इलाम १ र २, सुनसरी ३, सोलुखुम्बु, मकवानपुर २, काठमाडौं ९, काभ्रे २, कास्की १, लम्जुङ, पर्वत, गुल्मी २, पाल्पा २, अर्घाखाँची, रूपन्देही ५, कपिलवस्तु ३, प्युठान, बैतडी र कञ्चनपुर १ मा पनि एमालेका उम्मेदवार समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको मतभन्दा बढी मत ल्याई विजयी भएको प्रतिवेदनमा उल्लेख छ। एमालेले कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनाव लडेको भए १३ सिट मात्र जित्ने दाबी नेकपा एसको छ। समानुपातिकतर्फ ती क्षेत्रमा पाएको मतका आधारमा झापा २, ४ र ५ का साथै धनकुटा, उदयपुर २, धनुषा ३, ललितपुर २, कास्की २ र ३, पाल्पा १, कपिलवस्तु १ मा मात्र एमालेले जित्ने दाबी नेकपा एसले गरेको हो। एमाले ८ क्षेत्र (महोत्तरी १, सिरहा १, सिरहा ३, सर्लाही ३, धनुषा ४, बारा १, बारा ३ र पर्सा ३) मा जनता समाजवादी पार्टी (जसपा) को मत पाएर जितेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै २ क्षेत्र (रूपन्देही १ र २) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत पाएर एमालेको जित भएको बताइएको छ। मोरङ १ तथा सुनसरी २ मा जसपाको र बाँके १ मा राप्रपाको मत एमालेको प्रतिस्पर्धीले पाएको भए सो पार्टी पराजित हुने उल्लेख छ।

नेपाली कांग्रेसले पनि एक्लै लडेको भए केवल १३ क्षेत्र (झापा १, मोरङ ३, मोरङ ६, रसुवा १, नुवाकोट २, मनाङ १, तनहुँ १, स्याङ्जा २, नवलपरासी पूर्व १, सुर्खेत १, बाजुरा १, डडेलधुरा १ र कञ्चनपुर ३) मा मात्रै जित्ने नेकपा एसको दाबी छ। प्रतिवेदनअनुसार काठमाडौं ३, काठमाडौं ४ र ५ तथा पर्सा ४ मा कांग्रेस उम्मेदवारहरू गठबन्धनमा रहेका दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतभन्दा बढी मत ल्याएर विजयी भएका छन्। माओवादी केन्द्रको मत नपाउँदा कांग्रेसले २१ क्षेत्र (संखुवासभा १, ओखलढुंगा १, धनुषा २, रामेछाप १, सिन्धुली १, धादिङ २, ललितपुर १, सिन्धुपाल्चोक २, गोरखा १, स्याङ्जा १, मुस्ताङ १, म्याग्दी १, गुल्मी १, पूर्वी नवलपरासी १, कपिलवस्तु २, दाङ ३, बाँके ३, बर्दिया १, सुर्खेत २, दार्चुला १ र कञ्चनपुर २) मा पराजित हुने नेकपा एसको ठहर छ।

नेकपा एसले समानुपातिकतर्फ प्राप्त गरेको मत नपाउँदा १० क्षेत्र (तेह्रथुम १, मोरङ १, सुनसरी ४, सप्तरी ४, रौतहट ४, काटमाडौं १, काठमाडौं १०, भक्तपुर २, दैलेख २ र कैलाली ४) मा र नेकपा एसको मत कांग्रेसले नपाई उसको निकटतम प्रतिस्पर्धीले पाउँदा थप ४ क्षेत्र (उदयपुर १, पूर्वी नवलपरासी २, मुगु १ र कैलाली ५) गरी जम्मा १४ क्षेत्रमा कांग्रेस पराजित हुने उल्लेख छ। त्यसैगरी माओवादी केन्द्र र नेकपा एसमध्ये कुनै एकको मत नपाउँदा अछाम २ मा, माओवादी केन्द्र र लोसपामध्ये कुनै एकको मत नपाउँदा महोत्तरी ४ मा र माओवादी केन्द्र, लोसपा र नेकपा एसमध्ये कुनै एकको मत नपाउँदा सप्तरी ३ र पर्सा २ मा कांग्रेस पराजित हुने अवस्था रहेको उल्लेख छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *