सहमतिमा राष्ट्रपति छान्ने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरू राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्नेबारे धारणा राखेका हुन् ।

एमालेसहितका दलसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा धेरैजसो नेताहरूले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढ्ने नीति लिएको उनको भनाइ छ ।

‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरूको आवाज आएको छ। राष्ट्रिय सहमति कहाँ हुन्छ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हुँदैन? त्यो बाँकी छ । तर हाम्रो मत भने त्यो हो,’ उनले भने, ‘अरू पार्टीसँग छलफल गर्न हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो। त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको कारण माओवादीको नेतृत्वमा सरकार बने पनि कांग्रेसले विश्वासको मत दिएकाले यसलाई ‘बाइपास’ गरेर जान नसक्ने धारणा राखेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अर्का नेता देवेन्द्र पौडेलले बताए । एमालेसहितको सहमतिमा राष्ट्रपतिको चयन गरिने उनको जिकिर छ ।

सहमतिका आधारमा नै मुलुकका समस्या समाधान गर्ने सोच आफूहरूको रहेको र त्यसैका आधारमा आफ्नो मत राखेको उनले उल्लेख गरे । राष्ट्रिय सहमतिको कुरा गर्दा कोही कसैले पनि आत्तिन नहुने नेता पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *