सिंहदरबार प्रवेशद्वारमै हिलो र दुर्गन्ध, ढल विसर्जनमा लापरबाही

काठमाडौँ । सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापारबाहीका कारण हो।

पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलाम्मे बन्यो। यस्ता विपत् आउँदा तत्काल काम गर्ने गरी काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी मर्मत गर्ने जनाएको थियो। त्यस्तो एम्बुलेन्सले काम पायो कि पाएन भन्ने गोरखापत्रको जिज्ञासामा सिंहदरबारकै लापरबाहीले त्यस्तो समस्या आएको र पूर्वाधारको समस्या नरहेको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ।

काठमाडौं महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले भने, ‘सिंहदरबारभित्र वा अनामनगर क्षेत्रमा कुनै ढल फुटेको होइन, ढल जाम भएको पनि होइन। सिंहदरबारभित्रको फोहोर बाटोमा फालिएको हो। सिंहदरबारले गरेको हो यो फोहोर। बाटोमा फोहोर र दुर्गन्ध फालेर सर्वसाधारणको आवागमनमा अवरोध पु-याएको भन्दै आवश्यक कारबाहीका लागि महानगरपालिकाले सम्बन्धित निकायमा पत्राचार गर्नेछ।’

सिंहदरबारभित्र मेलम्चीको पानी वितरणको तयारीस्वरूप त्यहाँभित्रका पाइपलाइन, ट्याङ्की तथा ढल सफाइ गर्दा त्यसबाट निस्केको फोहोर अन्यत्र विसर्जन गर्नुको सट्टा पूर्वी गेट र अनामनगर क्षेत्रमा फालिँदा सो क्षेत्र हिलाम्मे र दुर्गन्धित भएको उनले बताए।

थापाको दाबीलाई सिंहदरबारका अधिकारीले पनि पुष्टि गरेका छन्। सिंहदरबारभित्रको भौतिक संरचनाको निर्माण, मर्मतसम्भार तथा रेखदेख गर्दै आएको सहरी विकास मन्त्रालयका सह–सचिव तथा प्रवक्ता प्रदीप परियारले सिंहदरबारको पूर्वी गेटसँगै रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानी प्रशोधन केन्द्र सफाइ गर्ने क्रममा त्यहाँ वर्षौंदेखि थिग्रिएको फोहोर असावधानीपूर्वक ढलमा बगाउँदा पूर्वी गेट र अनामनगर क्षेत्र फोहोरमय तथा हिलाम्मे बन्न पुगेको बताए।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले पनि पानी प्रशोधन केन्द्रमा लामो समयदेखि थिग्रिएको फोहोर ढलबाट पठाउँदा ढलको क्षमताले थेग्न नसकेपछि फोहोर बाहिर निस्केर पूर्वी गेट र अनामनगर क्षेत्र हिलाम्मे बन्न पुगेको स्वीकार गरे।

उनले भने, ‘आज अस्थायी रूपमा सो क्षेत्रको ढल सफाइ गरिएको छ तर स्थायी समाधानका लागि सो क्षेत्रमा ढलको पाइप नै खनेर सफा गर्नुपर्ने हुन्छ। त्यो काम हामी छिट्टै नै गर्छौं।’

प्रशोधन केन्द्रमा थुप्रिएको फोहोर असावधानीपूर्वक बगाउँदा पूर्वी गेटबाट सिंहदरबार प्रवेश गर्ने कर्मचारी र सो क्षेत्रमा आवतजावत गर्ने यात्रुको बिजोग भएको थियो। सो क्षेत्रमा सवारीसाधन अवरोध हुनुका साथै दुर्गन्ध फैलिएको थियो। पूर्वी गेटको अगाडिबाट गुडेका गाडीले अनामनगर, घट्टेकुलो चोक र हनुमानथानसम्मको सडकलाई कालो र हिलाम्मे बनाएका थिए।

दक्षिण गेटका साथै पूर्वी गेटसमेत कार्यालय समय सुरु हुने बेला कर्मचारीलगायत सर्वसाधारण सिंहदरबार प्रवेश गर्छन्। कार्यालय समय सकिएपछि पूर्वी गेटबाट बाहिरिन पाइन्छ तर अरू बेला पूर्वी गेट बन्द रहन्छ। –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *