बेमाैसमी हावाहुरी र भूमरीका कारण टनेल खेती गर्ने किसानलाई समस्यामा

सरकारसँग सहयोगको माग

काठमाडौँ । नेपालका कृषक दिनप्रतिदिन व्यवसायिक टनेल खेतीमा आकर्षित भइरहेका छन् । वैज्ञानिक विधिबाट प्लास्टिक टनेलमा गोलभेडा, काउली, साग, धनियाँ र खुर्सानी जस्ता अनेक तरकारी उत्पादन गरी नेपाली किसन अहिले व्यवसायिक बनिरहेका छन् । राम्रो आम्दानी लिइरहेका छन् । तर, टनेलमा गरिने व्यावसायिक तरकारी खेतीमा पनि अनेक समस्या रहेको गुनासो किसानले गरिरहेका छन् ।

भक्तपुरमा विगत ७ वर्षदेखि टनेलमा तरकारी खेती गरिरहेकी किसान सुशीला कार्कीले आजभोलि चल्ने बेमौसमी र चैतवैशाखमा चल्ने मौसमी हावाहुरी र भूमरीका कारण टनेल खेती गर्न समस्या भइरहेको बताएकी छन् ।

सुशीलाले टनेलमा काउली, गोलभेडा, साग र अन्य थुप्रै तरकारी रोपेकी छिन् । दिउँसो चल्ने हावा र भूमरीले उक्त टनेलको प्लास्टिक प्वाल पार्दा समस्या भएको उनको भनाइ छ ।

अर्का किसान सीता कार्की पनि उस्तै समस्या रहेको बताउँछिन् । उनका अनुसार एउटा टनेलमा प्लास्टिक हाल्न ५ हजारभन्दा बढी खर्च लाग्छ । त्यही टनेलबाट ५ हजार कमाउन लामो समय पर्खनु पर्छ । आफ्नो गुनासो पोख्दै उनले भनिन्, ‘टनेलमा प्लास्टिक हाल्न कम्तिमा पनि ५ हजार लाग्छ । एकचोटी भुमरी पस्छ र प्लास्टिक प्वाल पार्छ । अनि टनेल काम नै नलाग्ने हुन्छ । फेरि अर्को प्लास्टिक हाल्नु पर्छ । उस्तै खर्च हुन्छ । त्यही ५ हजार कमाउन हामीले लामो समय कुर्नुपर्छ ।’

कुनैकुनै कृषकले हिउँदमा टनेलको प्लास्टिक झिक्ने र बर्खामा राख्ने गर्छन् । तर यो उपाय सबै खेतीका लागि उपयुक्त हुँदैन् ।

सीताका अनुसार हावाहुरी र भूमरीले दुःख दिएन भने प्लास्टिक ५ वर्ष टिक्छ । नत्र चाडैँ च्यातिन्छ ।

उनले टनेलमा प्लास्टिककोे विकल्प नै नभएको बताइन् । उनका अनुसार टनेलमा बलियो त्रिपाल प्रयोग गर्न मिल्दैन् । यदि मिलि हाले झन् धेरै खर्च लाग्छ ।

उनका अनुसार बर्खामा गोलभेडा खेती गर्न प्लास्टिक प्वाल नपरेको टनेल आवश्यक हुन्छ । भन्छिन्, ‘बर्खामा गोलभेडा खेती गर्दा प्वाल नपरेको टनेलमा गर्नु पर्छ नत्र गोलभेडाको बोटमा नै कुहिन्छ र बोट मर्छ । गोलभेडा फल्दैन ।’

यो समस्या किसान सुशीला र सीता कार्कीको मात्र होइन । टनेल खेती गर्ने सम्पूर्ण किसानहरूको साझा समस्या हो । अर्का किसान गीता खड्का उनीहरूको कुरामा समर्थन जनाउँदै भन्छिन् ‘हो, भूमरीले प्लास्टिक च्यात्छ । कतिको च्यातिसक्यो ।’

सामान्यतया सानो टनेल बनाउन करिब ५ हजारको प्लास्टिक लागे पनि ठुला टनेल बनाउन ३० देखि ३५ हजारसम्म पनि लाग्ने गरेको उनीहरूले बताए ।
टनेल खेती गर्ने किसानहरूको समस्या भूमरी र हावाहुरी मात्र होइन् । बढ्दो जग्गा भाडा पनि हो । भक्तपुरमा जग्गा कुटमा लिएर टनेल खेती गर्ने किसानहरू धेरै छन् ।

‘जग्गा धनीले वर्सेनी भाडा बढाउँछ । ५ वर्ष यता १० प्रतिशत नै बढाइसक्यो,’ खड्काले भनिन् ।

कृषि अर्थतन्त्रको मेरुदण्ड हो । यसमाा प्लास्टिक, जग्गाभाडा मात्र नभएर मल, बिउ, औषधिजस्ता अनेक समस्या रहेका छन् । सरकारले गाउँ गाउँमा प्लास्टिक, बिउबिजन र विभिन्न अनुदान वितरण गरिरहेका छन् । तर काठमाडौँमा कृषि गरेका उनीहरूले थाहा नपाएर वा अन्य कारणले आजसम्म कुनै सहयोग नदिएको उनीहरूको गुनासो छ । आगामी दिनमा सरकारबाट सहयोगको अपेक्षा गरेको उनीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *