गृहमन्त्रालयकाे जिम्मेवारी टुंगाे लगाउन प्रधानमन्त्रीलाई पार्टीले हस्तक्षेप नगर्ने


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकमा राजनीतिक अवस्थाका साथै पार्टी सुदृढीकरण, कार्यविभाजनलगायतका विषयमा गृहकार्य भएको र नटुङ्गिएकाले बुधबार मात्रै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यसअघि माओवादी स्थायी कमिटी मंगलबार बस्ने तय भएको थियो । प्रवक्ता महराले मंगलबार पदाधिकारी बैठकमा थप गृहकार्य गर्ने र १८ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको बताए ।
उनले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे बैठकमा छलफल नभएको जानकारी दिए । मन्त्रालयको विषय प्रधानमन्त्रीले टुङ्गो लगाउने भएकाले पार्टीले हस्तक्षेप नगर्ने उनको भनाइ छ ।
त्यसअघि बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री कसलाई बनाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनेपछि थाहा हुने बताए ।
