देश र जनताको सेवाको लागि राजनीतिमा आएकी हुँ : एलिजा गौतम

काठमाडौँ । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीमा विशेष कार्यक्रम आयोजना गरेर उक्त पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् ।

गौतम ऋषि धमलाकी पत्नी हुन् । पार्टी प्रवेशपछि उनले आफ्नो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति महसुस गरेको बताइन् । ‘मैले राजनीतिक यात्राको थालनी गरेकी छु । माननीय रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेशसँगै मेरो राजनीतिक यात्राको आरम्भ भएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘म देश र जनताको सेवाको लागि राजनीतिमा आएकी हुँ । पार्टीको मूल उद्देश्य पूरा गर्नको लागि अहोरात्र खटिने प्रण गर्दछु । समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु ।’

गौतमले आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी पार्टीले दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना गरेको बताइन् । ‘दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । हामीले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना गरेका छौँ । हामी सामूहिक भावनाले अघि बढ्छौँ,’ उनले अगाडि भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *