प्रचण्डले खुलाए ओलीसँग असन्तुष्ट हुनुको कारण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

ओलीले सहमति पालना नगरेको उनको तर्क छ । ‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ । विगतका कुरा सार्वजनिक रूपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन,’ अध्यक्ष प्रचण्डको ब्रिफिङ उद्धृत गर्दै माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘हामीले संसद् विघटनको विषयमा नबोल्ने भनेका थियौँ ।’

ओलीले संसद् विघटनको विषय संसद् प्रवेश गराएर सहमति पालना नगरेको अध्यक्ष प्रचण्डको असन्तुष्टि थियो । उनले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए ।

राष्ट्रपतिमा एमालेले दाबी गर्दै आएको छ भने कांग्रेस पनि आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरूको धारणा माग गरेका थिए । राष्ट्रपति निर्वाचनमा पार्टीले लिने निर्णयबारे अध्यक्ष प्रचण्डले नेताहरूको धारणा मागेका हुन् ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति
बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको हुनुपर्ने मत राखेका छन् । संसद्लाई पाँच वर्ष टिकाउन र संविधानको रक्षा गर्न राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्नेमा आफूहरूको जोड रहेको सचिव देवेन्द्र पौडेलले बताए ।

राष्ट्रपतिमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरूप साझा व्यक्तित्वलाई अघि सार्न कोसिस हुने उनको भनाइ छ । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित जाने भनेका छौँ । राष्ट्रपति साझा पद हो । साझा पदमा सबैले सम्मान गर्ने साझा व्यक्तित्व आएको राम्रो,’ उनले भने, ‘राष्ट्रिय सहमति कांग्रेस वा एमाले कसैलाई बाइपास गरेर हुँदैन । साझा व्यक्ति छानौँ भन्ने हो । प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिएजस्तै साझा रूपमा चुन्नुपर्छ । संविधानको संरक्षणका लागि पनि साझा व्यक्तिको आवश्यकता छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *