देउवाकै लाइनमा गगन थापा : ‘शक्ति सन्तुलनका लागि राष्ट्रपति कांग्रेसलाई’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि कांग्रेसलाई राष्ट्रपति पद दिइनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

राष्ट्रिय सहमतिका आधारमा कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उनको भनाई छ । ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक-फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा नै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ,’ महामन्त्री थापाले भने ।

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । ‘खासगरी नेकपा माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ’ उनले भने ।

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, ‘त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।’

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *