नागरिक समाजको प्रश्नः यात्रुले भरिएको जहाज सिकारुले उडाउन पाइन्छ ?

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि यहाँका प्रभावित नागरिकहरूले पाइलटले फरक रुटबाट अवतरण प्रयास गर्नुमा प्रश्न उठाएका छन् । विमानस्थल सुचारु भैसकेको अवस्थामा विपरीत दिशाबाट अवतरणको रुट माग्नुमा पाइलटको दोष उनीहरूले देखाएका हुन् ।

श्रोतका अनुसार विमानस्थलको ३० रुट टावरले ठिक रहेको र त्यसमा अवतरणको अनुमति दिएको थियो । तर पाइलटले नै १२ नम्बरको रुट मागेर जहाज घुमाएका थिए ।

‘अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भइसकेको अवस्थामा दुर्घटनाग्रस्त जहाज किन विपरीत दिशाबाट अवतरण गर्न रुट मागियो ?,’ प्रभावित नागरिक समाजको प्रश्न छ, ‘रुट नम्बर ३० बाट रुट क्लियरेन्स छ, भन्दाभन्दै किन रुट नम्बर १२ मागियो ?’

उनीहरूले जहाज को पाइलटले उडाएका कारण दुर्घटना भएको आशंका पनि गरेका छन् ।

‘सिकारु चालकको लागि यात्रु भरिएको जहाज उडाउनु हुन्छ कि हुँदैन ? नीतिगत र कानुनी व्यवस्था के छ ?,’ समाजले भन्यो, ‘कानुन विपरीत कार्य भएको ठहरे के कस्तो कसुर हवाई कम्पनीहरूले बेहोर्नु पर्ने हो स्पष्ट पारिनुपर्छ ।’

उनीहरूले पीडित परिवारलाई चित्त बुझ्दो गरी निष्पक्ष छानबिन गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

‘दुर्घटनामा हरेक विषयका प्रश्नको सही सूचना पाउनु नागरिक अधिकार हो, त्यसैले नागरिकलाई सम्बोधन हुने गरी सूचना प्रवाह गरियोस्,’ अध्यक्ष कुसुम केशव पराजुलीले भने, ‘समाजले उठाएका प्रश्नको सही जवाफ चाहिन्छ ।’

समाजले दुर्घटना भएको स्थानमा अतिक्रमित संरचनालाई व्यवस्थित गरेर स्मारक स्तम्भ र पार्क निर्माणको माग गरेको छ । यस्तै, पीडित परिवारमा अशक्त वा असहाय सदस्य भएमा उनीहरूको पालनपोषण, शिक्षा, उपचार वा रोजगारीको व्यवस्था राज्यले गर्नुपर्ने माग समेत समाजले गरेको छ । समाजको आयोजनामा शुक्रबार दुर्घटना स्थलमा मौनधारण एवम् शोक कार्यक्रम समेत गर्ने तयारी छ । नागरिक स्तरबाट दुर्घटनाबारे चासो दिनका लागि समाज गठन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *