घुससहित समातिए विमानस्थल प्रमुख : दराजबाट नगद, रक्सी र मोबाइल बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखामा कार्यरत एक हाकिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । पदको दुरुपयोग गरेर घुस माग्ने कार्यमा संलग्न व्यवस्थापन शाखा प्रमुख (प्रबन्धक) पूर्ण प्रसाद चुँडाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रवक्ता भण्डारीका अनुसार चुँडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवतजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग एक लाख ५० हजार घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली विमानस्थल पुगेको थियो ।

चुँडालले उक्त घुस रकम लिइसकेपछि अख्तियारको टोली पुगेको थियो । उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ट डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो ।

कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ रकम र पाँच बोतल ब्ल्याक लेबल, एक बोतल डबल ब्ल्याक लेबल, चिभास रिगल, ग्लेनफिडिक, गोर्खाज एन्ड गन्स गरी नौ बोतल मदिरा बरामद गरेको छ । त्यस्तै, चार थान मोबाइल फोन पनि टोलीले बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *