माधवनारायण व्रत : व्रतालुहरूको परदेश यात्रा पशुपतिनाथमा (भिडिओ)

काठमाडौँ । माधव नारायण मेलाका व्रतालुहरूले शनिबार बिहान पशुपतिस्थित बाग्मती नदीमा स्नान गरेका छन् ।

काठमाडौँको साँखु शालीनदीसि्थत माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन समेत गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि व्रतालुहरू शुक्रबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए ।

पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन् । ताम्रेश्वरमा अघ्र्यदानपछि बर्तालु पैदल हिँडेर सलम्पाख भनिने सानोगौचरणमा पुगेर भोजन गर्ने प्रचलन छ । भोजनपछि बर्तालु दक्षिणकाली नगरपालिकाको शेषनारायणमा गएर बास बस्छन् । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।

हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यस बेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, पनौतीलगायत तीर्थस्थलमा व्रतालु पैदल यात्रा दर्शनका लागि जाने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *