नयाँ वर्ष २०२३ लाई विश्वभर भव्य स्वागत


काठमाडाैँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् ।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ । नयाँ वर्ष सन् ०२३ लाई न्युजिल्याण्ड र अस्ट्रेलिया लगायत विश्वभर भव्य रुपमा स्वागत गरिएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ।
केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ ।
