विवाहको मौसममा सुनको माग बढ्याे, आपूर्ति कम, राष्ट्र बैंक भन्छ– आयात बढाउन मिल्दैन

काठमाडौँ । मंसिर महिना, नेपाली परम्पराअनुसार पञ्चेबाजा र विवाहको महिना । यस वर्ष पनि मंसिर ११ गतेदेखि २८ गतेसम्म विवाहको थुप्रै लगन छन् । विवाहमा सुनलाई गरगहना र दाइजोको रुपमा प्रयोग गरिने चलन छ । विवाहको लगन नजिकिएसँगै सुनको माग पनि ह्वात्तै बढ्ने गर्छ ।

यस महिनामा विवाहको सिजन भएकोले अन्य समयभन्दा सुनको बिक्रीवितरण बढी हुने गरेको भक्तपुरको च्यामासिङमा रहेको एमआर ज्वेलर्सका सञ्चालक कुमार गजमेरले बताए ।

भन्छन्– ‘यो विवाहको सिजन हो । सुन बिक्री हुने सिजन पनि यही हो । अरु महिनाभन्दा यो महिनामा सुनको बिक्री बढी हुन्छ ।’

सुन किन्न आएकी ग्राहक सिर्जना तामाङका अनुसार विवाहमा बेहुलीका लागि मात्र नभएर त्यहाँ आउने अन्य महिलाले पनि सुनका गरगहना लगाउने हुँदा विवाहमा सुनको प्रयोग बढी हुने गरेको बताइन् ।

भोजभतेर, विवाहमा ‘सुन’ महिलाको प्रमुख चर्चाको विषय बन्ने गर्दछ । हुन पनि हो, सुन लगाएर आकर्षित देखिनु हरेक महिलाको चाहना हुन्छ । अझ नेपाली समाजले नै सुन लगाएका व्यक्तिलाई धनी र हुनेखानेको संज्ञा दिन्छ । सुन लगाउनेको सामाजिक प्रतिष्ठा बढ्ने बुझाइ छ । त्यस्तो हुँदा सुन जोड्न मानिसको चाहना हुने गरेको छ ।

अर्कोतर्फ जन्मदेखि मृत्यु संस्कारसम्मका लागि नेपाली संस्कृतिमा सुन अनिवार्य धातुको रुपमा प्रयोग गरिने भएकोले पनि यो नभई नहुने बस्तु समेत बनेको छ । त्यसो हुँदा खाई–नखाई थोरै थोरै पुँजी जम्मा गरेर भए पनि सुन किन्ने चलन छ । यसले गर्दा पनि सुनको भाग बढ्नु स्वभाविक हो ।

तर, बजारमा विवाहको सिजनमा माग अनुसार सुनको आपूर्ति नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार नेपालमा सुनचाँदीको माग बढी भए पनि आपूर्ति निकै न्यून छ ।

‘बजारमा अहिले दैनिक ३० केजी (किलोग्राम) सुनको माग छ,’ उनले भने, ‘तर आपूर्ति १० केजी मात्र छ ।’ यसअर्थ नेपालमा सुनको आपूर्तिभन्दा दुई गुणा बढी माग रहेको देखिन्छ ।

शाक्यका अनुसार नेपाल राष्ट्र बैंकले सुनको कारोबार गर्ने बैंकलाई दैनिक १० केजीका दरले सुन बिक्री गर्न अनुमति दिएको छ । पालो अनुसार प्रत्येक दिन बैंकले १० किलो सुन बजारमा पठाउने गरेका छन् । त्योभन्दा बढी बिक्रीवितरण गर्न नपाउने हुँदा बजारको माग पूरा गर्न नपाएको उनले बताए । तसर्थ आपूर्तिभन्दा माग धेरै भए पनि १० केजी मात्र कारोबार गरिरहेको उनले बताए ।

नेपाली बजारमा सुनको माग र आपूर्तिलाई हेर्दा नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाउनुपर्ने देखिन्छ । तर, नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पाेखरेलका अनुसार अहिले विदेशी विनिमय सञ्चितिमा आएको गिरावटका कारण नेपाल सरकारले ५५ प्रतिशतले सुनको आयात कटौती गरेको छ ।

सूचना अधिकारी पाेखरेल भन्छन्– ‘अहिले सुन आयातको कोटा बढाउनु देशको निम्ति घातक हुन्छ । सुनभन्दा महत्त्वपूर्ण कुरा औषधि र खाद्य सामग्री हो । सुनको कोटा बढाउँदा सुन किन्नमै विदेशी विनिमय खर्च हुन्छ । औषधि आयातका लागि विदेशी मुद्रा हामीसँग नहुन सक्छ । त्यसो हुँदा नभए पनि चल्ने सुन जस्ता विलासी वस्तुहरूको आयातको सीमा घटाइएको हो ।’

सुनचाँदी व्यवसायीहरूले सुन आपूर्तिको कोटा बढाउन माग राखेको भए पनि तत्काल कोटा बढाउने अवस्था नरहेको उनले बताए ।

सुन आयातमा सीमा तोक्ने कि नतोक्ने भन्ने विषय देशको परिस्थितिमा भर भर पर्ने उनले बताए । नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा सुन आयातको सीमा अपरिहार्य रहेको उनले बताए ।

बढेकाे छैन मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार मंसिरमा सुनको मूल्य प्रतितोला ९६ हजार ८ सयदेखि ९८ हजारसम्म रहेको देखिन्छ । मंसिर १ गते छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय थियो । त्यसैगरी १५ गते सम्म आइपुग्दा छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँसम्म रहेको देखिन्छ ।

उतार चढावकै बीच पनि विवाहको सिजनमा नेपालमा सुनको मूल्य खास बढेको देखिँदैन । यद्यपि, सुनको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य, डलरको मूल्यमा हुने उतार चढावलगायत कारणले पनि असर गरिरहेको हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *