डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ ?

काठमाडौँ । डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । मुस्ताङमा पनि एक जनामा डेङ्गीको सङ्क्रमण भेटिएसँगै ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो ।

अहिलेसम्म देशभरका २८ हजार १ सय ९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९ सय ७५ जनामा डेङ्गी देखिएको छ । त्यस्तै प्रदेश एकमा ८ सय २९, मधेस प्रदेशमा ४ सय १३, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १२५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ८ सय ५० जनामा सङ्क्रमण भएको छ ।

डेङ्गीको सङ्क्रमणका कारण अहिलेसम्म ३८ जनाले मृत्यु भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले जानकारी दिए । दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टर दाहालको सुझाव छ । डेङ्गी सङ्क्रमण भएर सिकिस्त अवस्थामा अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न थालेको पनि डाक्टरले बताएका छन् ।

सिकिस्त बिरामीको संख्या बढेसँगै कतिपय अस्पतालमा आईसीयू र भेन्टिलेटरमा राखेर पनि बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको छ । बिरामीको ज्यान जाने क्रम समेत बढेको भन्दै डाक्टरले डेङ्गी सङ्क्रमणबाट बच्नका लागि सतर्कता अपनाउन सुझाव दिएका छन् । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरको सुझाव छ । डेङ्गी फैलिएपछि अहिले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको छ । कार्तिक मसान्तसम्म नै जोखिम रहने भएकाले यो अभियान निरन्तर चलाउनुपर्ने र पालिका तहमा पनि त्यसैअनुसारका काम गर्न भनिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि पूरा बाहुला भएको लुगा लगाउन आग्रह गर्दै आएको छ । मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको छ । मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश, जिल्ला र पालिकासँगको समन्वयमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ ।

डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ ?
चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङस्थित चिङ्ख्वा विश्वविद्यालयसहित विभिन्न चिनियाँ प्रयोगशालामा कार्यरत वैज्ञानिकहरूले मुसालाई डेङ्गी भाइरसबाट सङ्क्रमित गराएर परीक्षण गरेका थिए ।

सङ्क्रमित मुसाको छालामा पाइएको एउटा गन्धयुक्त यौगिकका कारण लामखुट्टेले तिनलाई टोक्ने सम्भावना निकै धेरै बढेको पाइयो । उक्त यौगिक एसिटोफेनन भएको पहिचान भयो । डेङ्गी वा जीका भाइरस सङ्क्रमण भएका मानिसमा त्यो यौगिक बढी उत्पादित हुन्छ ।

परीक्षणमा सहभागी स्वयंसेवकहरूका हातमा एसिटोफेनन दल्दा लामखुट्टे आकर्षित भएको पाइयो । वैज्ञानिकहरू अहिले उक्त यौगिकलाई लक्ष्य बनाउनेगरी उपचारको खोजीमा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *