काेही किन सार्वजनिक स्थानमा पोर्न हेर्छ ?

ब्राउनवेन रिड बेलायतको एक सार्वजनिक पुस्तकालयमा अन्य विद्यार्थीहरूले जस्तै अध्ययन गर्नको लागि बसिरहेकी थिइन् । तर त्यहाँ उनले एउटा अति असहज दृश्यको सामना गर्नुपर्याे । एकजना मानिस पुस्तकालयको कम्प्युटरमा पोर्न हेरिरहेका थिए । रेडियो वन न्युज विटसँग कुरा गर्दै उनी भन्छिन्, ‘ म स्तब्ध भए । अब के गर्ने र कसरी प्रतिक्रिया जनाउने भन्नेबारे सोच्नै सकिन ।’

म्यानचेस्टरमा बस्ने २१ वर्षीय रिडलाई यस्तो घटना जीवनमा एक पटक मात्र हुन्छ होला भन्ने लागेको थियो । तर केही हप्तापछि रिडले सोही व्यक्तिलाई पुस्तकालयको कम्प्युटरमा पोर्न हेरिरहेको अवस्थामा भेटिन् । ब्राउनवेन रिड जस्तै अरू धेरै मानिसले सार्वजनिक स्थान जस्तैः बस, रेल, पुस्तकालय, प्रतीक्षालयमा पोर्न हेरिरहेको अवस्थामा मानिस भेटेकोबारे बताएका छन् । हालै संसद्मा फोनमा पोर्न हेरेको भेटिएपछि कन्जरभेटिभ पार्टीका एक सांसदले राजीनामा दिनु परेको थियो । बिबिसीसँग कुरा गर्दै उनले ट्रयाक्टरको वेबसाइट सर्च गर्दा गल्तीले घटना भएको, पोर्न हेर्ने मनसाय नभएको स्पष्टीकरण दिएका थिए ।

बेलायतमा मिडियाको अनुगमन गर्ने संस्था अफकमले बेलायतका आधा वयस्क जनसंख्याले पोर्न हेर्ने तथ्य सार्वजनिक गरेको थियो । सार्वजनिक स्थलमा मानिसहरू किन पोर्न हेर्छन् त ? यसो गर्नुपछिको मनोवैज्ञानिक कारण के हुनसक्छ भन्ने पत्ता लगाउन लाउरेल सेन्टरमा पोर्नोग्राफी र यौन लतबारे जाँच गर्ने मनोचिकित्सक डा, पाउला हलसँग अन्तर्वार्ता भएको थियो । डा. पाउला भन्छिन्, ‘यसको साझा र सम्भावित कारण पोर्न हेर्ने लत नै हो । यो सबैलाई थाहा भएको नै कुरा हो की जब मानिसलाई केही कुराको लत लाग्छ त्यसपछि उसले आफैँमाथिको नियन्त्रण पनि गुमाउँदै जान्छ । चाहे यो मदिराको लत होस्, अथवा कुनै अनलाइन गेमको लत होस् अथवा पोर्न हेर्ने लत । यी कुराको लतबाट आफैँलाई नियन्त्रण गर्न गाह्रो पर्छ । यस्तो लतले गर्दा सार्वजनिक स्थलमा नै पोर्न हेर्ने इच्छा ‘म घर गएर हेर्छु’ भन्ने नियन्त्रणभन्दा ठुलो हुन्छ । जब मानिसलाई केही कुराको लत लाग्छ त्यसपछि उनीहरूको मस्तिष्कको सोच्ने भाग अधिकांश समय अफलाइन हुन्छ ।’

क्यालम सिङ्गलटनले ग्लासगोमा बस यात्रा गर्ने क्रममा एक व्यक्तिले अश्लील चलचित्र स्क्रोल गर्दै गरेको देखिन् । यो देखेर १९ वर्षीया क्यालमलाई असहज मात्र भएन सार्वजनिक स्थलमा कसैले कसरी यस्तो गर्न सक्छ भनेर उनी सोच्न बाध्य भइन् ।
क्यालम भन्छिन्, ‘ यो एउटा ठुलो मुद्दा हो । यो उनीहरूको दैनिक जीवनको एउटा पाटो होला तर त्यसो गर्नु गलत हो ।’
डा पाउलाको भने सचेत नभएका व्यक्तिहरूले मात्रै सार्वजनिक स्थलमा पोर्न हेर्छन् भन्ने विश्वास छ । उनी भन्छिन्, ‘त्यस्ता व्यक्तिहरू फेसबुक, इन्स्टाग्राम जस्ता अरू एपमा स्क्रोल गर्दा गर्दै अश्लील सामग्रीसम्म पुग्छन् र त्यसलाई खोलेर हेर्न थाल्छन् । उनीहरूलाई आफू के गर्दैछु भन्नेबारे जानकारी नै हुँदैन । ब्राउनवेन रिड भन्छिन् सार्वजनिक स्थलमा पोर्न हेर्नु अपमानजनक मात्रै होइन यो मान्छेलाई विचलित बनाउने काम हो । मूलधारको संस्कृतिमा पोर्नोग्राफी सामान्य भइसकेको र यसले मानिसलाई प्रभावित बनाएको रिड बताउँछिन् ।

एनि भन्छिन्, ‘अब पोर्नोग्राफी जतासुकै छ । पछिल्लो केही वर्षमा के पोर्न हो र के होइन भन्नेबारे बहस नै हुन छोडिसक्यो ।’
डा. पाउला भन्छिन्, केही मानिसहरू पोर्न हेरिरहेको समयमा आफ्नो वरिपरिका सबै मानिसहरू पोर्न हेर्छन् भनेर सोच्छन् । जसले गर्दा पोर्न अहिले सामान्यीकरण भएको छ । कतिपय पुरुषहरू सार्वजनिक स्थलमा पोर्न हेरेर आफ्नो शक्ति देखाएको महसुस गर्छन् । यसको पछाडि अति नराम्रो मानसिकता छ । मानिसहरूले आफूलाई हेर्ने अधिकार छ भनेर सोच्छन् । कसैलाई त्यसबाट असजिलो भइरहेको छ भने त्यो उनीहरूको समस्या होइन भन्ने ठान्दछन् ।’

एक बानी
डा.पाउला भन्छिन् यदि कोही व्यक्तिले सानै उमेरदेखि पोर्न हेर्न थालेको छ भने त्यसले समस्या निम्त्याउँछ । यो हरेक प्रकारको व्यवहारमा लागु हुन्छ । हामी कुन उमेरमा के गर्छौ भन्ने कुराले हामी कत्तीको त्यो कामको गहिरो लतमा फसेका छौ भन्ने कुरा निर्धारण गर्छ । र कोही मानिसले जबसम्म त्यो खराब बानी अथवा लत हो भनेर स्वीकार गर्न सक्दैन त्यति बेला सम्म लतबाट छुटकारा पाउन मुस्किल हुन्छ । यदि कोही मानिस सानै उमेरबाट पोर्न हेर्न सुरु गर्छ भने त्यसको लत लाग्ने सम्भावना झन् उच्च हुन्छ । ब्राउनवेन सार्वजनिक स्थल सबैका लागि सुरक्षित हुनुपर्नेमा यस्तो हर्कत हुनु गलत भएको दाबी गर्छिन् । किनभने केही व्यक्तिका लागि यस्तो हर्कत अति असहज र तनावको विषय हुनसक्छ । यस्तो काम गर्ने व्यक्तिहरू अरूका लागि यो घृणाको विषय हो भन्ने कुराको चेत नै राख्दैनन् । ’ –बिबिसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *