जेठ ५ गतेभित्र मत गणना सक्नु पर्ने

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मक रूपमा बढी मतदाता भएका र सुरक्षालगायत दृष्टिले संवेदनशील मानिने विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ का दफा ५ प्रयोग गरी आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, पर्यवेक्षणका काम, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

उक्त दफामा आयोगले आयोगका पदाधिकारी वा कर्मचारी वा नेपाल सरकारका कर्मचारी वा प्रदेश सरकारका कर्मचारी वा विशेषज्ञसहितका टोली गठन गरी निर्वाचन प्रचारप्रसार, मतदान, मतगणना वा निर्वाचनसँग सम्बन्धित अन्य काम कारबाहीको अनुगमन गर्न वा गराउने सक्ने व्यवस्था गरिएको छ ।

खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नु परेमा स्थलबाटै निर्णय गर्न सक्ने अख्तियारी टोलीलाई दिइएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह-पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गरे । स्वतन्त्र उम्मेदवारले अमुक दलको झण्डा प्रदर्शन गर्ने, एक उम्मेदवारलाई प्रयोग गर्न दिइएको गाडी अर्को उम्मेदवारले प्रयोग गर्ने, मतदातालाई धम्की वा आश्वासनको प्रभावमा पार्ने काम पनि भइरहेकाले निर्ममतापूर्वक कारबाही गर्न पनि उनले निर्देशन दिए ।

जेठ ५ गतेभित्र गणना सक्नु पर्ने
प्रमुख आयुक्त थपलियाले मतदाताको निर्बाध मत खसाल्न पाउने अधिकारलाई सुनिश्चित गर्नु आयोगको दायित्व भएकाले मतदान वा मतगणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी स्थितिलाई सम्हाल्न टोलीलाई आग्रह गरे । उनले सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सम्पन्न हुने भएकाले सो अवधिभित्र मतगणना सम्पन्न गर्ने गरी आवश्यक जनशक्ति खटाइएकाले आयोगका कारणले गणनामा ढिलाइ हुन नहुने पनि स्पष्ट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *