समावेशी व्यवस्था नेताका पत्नीलाई फलिफाप

स्थानीय निकायमा समावेशी जनप्रतिनिधित्व हुनुपर्ने अनिवार्य संवैधानिक व्यवस्था पर्सा जिल्लाका नेता पत्नीका लागि भने राम्रै फापेको छ । ठूलो एवम् सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली कांग्रेस, कम्युनिस्टदेखि मधेसी दलहरूका नेताले उपमेयरको उम्मेदवारमा आफ्नै श्रीमतीलाई अगाडि सारेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीको आफ्नै पैतृक गाउँ जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष दुई हप्ता अगाडि नेकपा माओवादीमा प्रवेश गरेकी छन् । उपाध्यक्ष बिसमिल्ला खातुन जसपा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नु पछाडिको कारण मुख्यमन्त्री नै भएको आरोप लगाएका छन् । जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्रीको श्रीमती जुलेखा खातुन उपाध्यक्ष पदको उम्मेदवार बनी सरकारी गाडी चढेर भोट माग्दै हिँड्न थालेपछि बिसमिल्ला जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य भएको उनकाे आरोप छ ।

तर मुख्यमन्त्री लालबाबु राउतको भनाइ भने अर्कै छ । राउतका अनुसार पार्टीका स्थानीय कार्यकर्ताले उचालेर श्रीमतीलाई उपाध्यक्षमा उम्मेदवार बनाएका हुन । ‘मधेसीले पाउने ठुल्लै ओहदा मुख्यमन्त्रीमा आफू पुगी सकेकोले उनले (श्रीमतीले) चुनाव नलडे पनि हुन्थ्यो’, मुख्यमन्त्री राउत भन्छन्, ‘राजनीतिमा त्यही न हो, सबै मिलेर अगाडि बढाइदिएका छन्, फर्क पनि कसरी भन्ने ? घरबार हेर्ने भनेको उहाँले नै हो ।’

नेताभन्दा बढी समाजसेवी भनेर चिनिने नाम हो डा. सुष्मा तिवारी । नेपाली कांग्रेसबाट उपपप्रमुखको लागि टिकट पाउन सक्ने योग्य उम्मेदवारको नामभित्र डा. तिवारीको नाम अग्रस्थानमा आउँछ । विद्यावारिधि गरेर समाजसेवी र महिला अधिकारकर्मीको रूपमा परिचित डा. तिवारी नेपाली कांग्रेस पर्साका निवर्तमान सभापति एवम् वीरगन्ज महानगरपालिकाका मेयरका प्रत्याशी अजय कुमार द्विवेदीकी श्रीमती हुन् । खास गरेर महिला नेतृत्व विकास गर्ने नेपाली कांग्रेसको भातृसंगठनको रूपमा रहेको नेपाल महिला संघको गतिविधि शिथिल भएको कारणले पनि महिला नेतृत्वको कमी देखिएको छ । मधेस प्रदेशको एक महानगरपालिकाको रूपमा रहेको वीरगन्ज महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका पूर्व सभासद् एवम् सभापति अजय द्विवेदीकी श्रीमती शुष्मा तिवारी द्विवेदी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारको प्रबल दाबेदार हुन् ।

गत स्थानीय चुनावमा उपमेयरका आकांक्षा राखेर ठाकुर क्याम्पसबाट राजीनामा दिए पनि शुश्री शान्ति कार्कीको पार्टी प्रतिको त्याग र बलिदानीको कदर गर्नका लागि आफू पछाडि फर्केको द्विवेदीको भनाइ छ । श्रीमान् अजय द्विवेदीसँग जोडेर आफूलाई हेर्नु गलत रहेको, उनकाे तर्क छ । द्विवेदी भन्छन्, ‘पार्टीमा मेरो आफ्नै लगानी छ, म पार्टीका हरेका कार्यक्रममा सक्रिय रहँदै आएकी छु, मधेसको महिला भएपनि पढेलेखेको छु, उपमेयरमा जिते भने महानगरको विकासमा ठूलो परिवर्तन ल्याउने मेरो सोच छ ।’ सामाजिक अभियन्ताको रूपमा काम गर्दै आएकोले पनि आफ्नो दावेदारी पार्टीका लागि उचित भएको उनकाे तर्क छ । यसअघि मेयरमा पराजित भएपछि यसपाली श्रीमतीलाई उपमेयर बनाएर आफू संसदीय निर्वाचनमा जाने दाउमा द्विवेदी रहेको उनी निकटका नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसबाट महानगरको उपमेयरको लागि जिल्ला सदस्य रुपा देवी श्रेष्ठ र किरण सरकारको नाम पनि चर्चित रहेको छ । महिलाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका निम्ति आफू लगातार काम गर्दै आएको श्रेष्ठको दाबी छ । किरण सरकार विद्यार्थी आन्दोलनमा सक्रिय रहेकाले आफ्नो दाबी सही रहेको सरकारको भनाइ छ ।

सत्ताधारी गठबन्धनकै अर्को दल नेपाल कम्युनिस्ट पार्टी समाजवादीको तर्फबाट पनि उपमेयरको उम्मेदवारमा अर्का आकांक्षी चिरञ्जीवी आचार्यकी श्रीमती सोफिया आचार्यको नाम पार्टीले अगाडि सारेको छ । गत स्थानीय चुनावमा एमालेको तर्फबाट लडेकी सोफिया आचार्यले १० हजार ६ सय ६३ मत प्राप्त गरेर तेस्रो स्थानमा आएकी थिइन् ।

जनता समाजवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर एकबाट जसपाका सांसद प्रदीप यादवकी श्रीमती पिंकी यादवको उपमेयरमा दावेदारीको चर्चा छ । सांसद यादवको जेठी श्रीमती पिंकी यादव पनि गत स्थानीय निर्वाचनमा उपमेयरमा लडेकी थिइन् । संघीय समाजवादी फोरम तर्फबाट मेयर पदमा विजय कुमार सरावगी जितेपनि नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शान्ति कार्कीको लोकप्रियताको कारण पिंकी यादव पराजित भएका थिए । सत्ताधारी दलबिच चलिरहेको गठबन्धन भंग भए जसपाले पुन यादवलाई नै चुनाव जिताउने चर्चा पार्टीभित्र रहेको एक कार्यकर्ताले बताए ।

जिल्ला सभापति पुरुषोत्तम झाकी श्रीमती पनि लोसपाबाट वीरगन्जको उपमेयरमा उम्मेदवार हुने चर्चा छ । एमालेसँग गठबन्धन हुने चर्चा चलिरहेको बेला उपमेयरमे स्वयम जिल्ला सभापनि स्वयम् वा उनकी श्रीमती उपमेयरमा लड्ने बढी सम्भावना रहेको कार्यकर्ताहरू बताउँछन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट छोटो समयको तयारीले पनि राम्रै मत ल्याएकाले पनि मिश्राले यस पटक उपप्रमुखका लागि उम्मेदवारीको दाबी गर्दै आएकी छन् । मिश्रा भन्छन्, ‘मेरा परिवारका सदस्य सबै काठमाडौँमा बस्नुहुन्छ । तर म वीरगन्जमै बस्छु । मैले अहिलेसम्म सबै जीवन नै वीरगन्जलाई दिएकी छु । अब वीरगञ्जबासीबाटै माया र साथ पाउँछु भन्नेमा पनि आशावादी छु ।’ स्राेतः INS न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *