बृद्धभत्ता : पहेँला अक्षता कि पिण्ड ?

अहिले नेपालमा ज्येष्ठ नागरिकहरू बिक्रम संवतमा हिसाब गरे धेरैजसो यस शताब्दी अघि १९९० सालको भूकम्प छेउछाउदेखि राणा शासनको अन्त्यसम्ममा जन्मिहुर्कि गरेका नै पर्छन् । हुन त, ज्येष्ठ नागरिक भनि नाक फुलाउन वा होच्च्याउन ६० वर्ष माथिकालाई भनिए पनि सरकारको लोलोपोतो जस्तो पहेँला अक्षेता खान चाहिँ ७० बर्ष नाघेपछि मात्र हुने गरेको छ ।

भोगेको कुरा
नेपालमा दैनिक आफ्नै घरकाज गरिरहेका र बिहान बेलुकाको माड व्यवस्था गर्न बाध्य भएकाहरूले त कहिले कामबाट अवकाश पाउलान र ? सरकारी अर्धसरकारी र गैह्रसरकारी संस्थामा काम गर्नेलाई किन हो कुन्नि फरकफरक उमेर हदमा अवकाश हुने गर्छ । सेनाको हकमा न्यून पदीय साधारणतर्फ ४६ देखि ५५ वर्षमा अनिवार्य अवकाश हुने व्यवस्था देखिन्छ भने सरकारी कतिपय निकायमा संलग्न कर्मचारीलाई ५८ वर्षमा नै अवकाश दिइन्छ । कति ठाउँमा जन्माेत्सवकै अघिल्लो दिन ‘भाेलिदेखि आफ्नो गरिखानु’ भनी बिदाई दिइन्छ भने अरूमा त्याे वर्ष बिताउन पाइन्छ । शिक्षक प्राध्यापकलाई ६३ लाग्ने छ महिना अघिदेखि ‘तेरा दिन गए’ भनी सूचना गरिन्छ । न्याय सेवातिर त अझ ६५ वर्षसम्म गनगन गरी बस्न दिइन्छ ।

पाको भएको र अमुक संस्थामा काम गर्न सक्तैनस् भने जसरी फरकफरक उमेरमा बिदा दिने गरेको किन होला ? शारीरिक तन्दुरुस्ती, बल, तुजुक र जाेस प्रदर्शन हुने वा देखाउने ठाउँमा त उमेरले काम गर्ला र स्वास्थ्यस्थिति जाँचेर कम सक्षम भए अवकाश दिए ठिकै होला । मगज खेलाउने ठाउँमा समेत उमेर हद किन होला ? झन् पाको उमेर भएपछि बुद्धि पनि पाको हुँदै जाने न हो अनुभवको आरनमा पाइन चढेर ! धेरै भोटो फटाएको मूल्य केही हुन्न र भन्या ? एउटा उमेर पुगेपछि संघ, संस्था, कार्यालयहरूबाट उमेर हदले अवकाश भनिने पत्र थमाउँछन् । लाग्छ, अब उ काम गर्न अयोग्य छ अथवा काम गर्नै सक्दैन । शारीरिक अक्षमतामा पनि मानिस बाैद्धिक काम गर्न त अयोग्य सावित हुनु नपर्ने । सकृय रहँदै कसले र किन चलायो होला कामदार मानिसलाई ग्लानी हुने नियम ? हुन त अरूलाई पालो दिन होला ! बरू काम नै बढाएर सकुन्जेल काम लगाए त पाका मानिस आयआर्जन साथ कर्तव्य नियमित भएकाले पनि खुसी हुन्थे । पाका मानिसको ज्ञानबाट सम्बन्धित संस्थाले पनि फाइदा पाउने र नयाँ भर्तीले उनीहरूबाट काम सिकेर ज्ञान र सिपको पुस्तान्तरण पनि हुने थियो ।

कताबाट सिकेछन् कुन्नी, नियम बनाउने अनौ समातेका मुढबुद्धिहरूले, सरकारी नियम भनेर ६० वर्षमा नै दर्ज्यानी चिन्ह झुण्ड्याई दिन्छन ज्येष्ठ नागरिकको । मातहतकै नियममा चल्ने एकातिर कुनै निकायमा कसैलाई त्यति वर्ष नपुगी गलहत्याउँछन् भने कसैलाई उमेर हद नपुगेको भन्दै कनिकनि काम थपेर भएपनि वा हाजिर गराएर भएपनि ६५ सम्म पनि जाेत्छन् ! त्यसाेभए ६० वर्षे ज्येष्ठ नागरिकको दर्ज्यानी उनीहरूलाई किन ? प्रौढ वा उत्तरार्ध प्रौढ भन्दा भइहाल्यो नि । फेरि त्याे दर्ज्यानीको महत्व, अधिकार र सुविधा नास्ती, मानिदिए सहचालकले सार्वजनिक बसमा भाडा अलिकति घटाइदेला, बस् ! कल्की भिराइदिने सरकारले त सिन्को भाँच्दैन यस उमेर समूहका लागि, अरूको के कुरा ? फेरि नागरिकता लिएदेखि काम गर्न, घुमफिर गर्न र सरकारी जागिर खान हुने रे ! पढ्ने, सिक्ने, ज्ञान आर्जन गर्ने र परिवार जोड्ने उमेरमा जागिरतिर लहसिए कति बुद्धि भएकाले सरकारी गैह्रसरकारी संस्थामा कत्ति स्तरीय सेवा गर्ने होलान ? देश कस्तो बन्ला ? अनि नीतिनियम कस्ता बन्लान ? त्यस्ताले बनाएका कानुन कस्ता होलान ? बरू, जागिर गर्नलाई चाहिने न्यूनतम उमेर बढाउन सकिन्छ । त्यस्तै, नेता बन्न वा चुनावमा उठनलाई न्यूनतम उमेर पनि ५० वर्ष पुग्नुपर्ने गरिए पाका वयस्कले अनुभव र योग्यतासहित राम्रो परिपाटी बसाउँथे कि ? त्यसाे भए जेष्ठ नागरिक दरिँदा सम्बन्धित कामबाट अवकाश भन्ने पनि मिल्थ्यो र सबै तहका सेवा व्यवसायमा समानता हुन्थ्यो । सबैतिर असमानता र विभेद हुँदा कतामात्रै सच्याउनु ?

लौ, त्यसैले होला यो रेडियो भन्ने जिनिसले समाचार नपाएर के के फतुर मातर ओकल्छ बा ! समाचार त तातो न छारोको ‘देश बेच्ने र नबेच्नेको जुहारी पो रहेछ’, हाम्रो कर तिरेको पैसा खाएर सदरमुकाम र राजधानीतिर घर बनाउनेहरूको । शिक्षामा सरकारी विद्यालयको हुर्मत लिएर आफ्ना सन्तान विदेश पढन पठाउनेको वाक्कलाग्दो भाषण । पानी नै नभएको ठाउँमा पुलको उद्घाटन, भूकम्प र बाढीपहिरो पिडित मान्छेलाई सुको पैसाको सहयोग वास्ता छैन, वन्यजन्तुका बगाल बढाउन करोडौँ बजेट रे । अनि अरू चैँ, ‘हत्या, बलात्कार, ठगी, विदेशमा अलपत्र, विदेश गएका मृत, अमुक देश वा संस्थासँग ऋण पाइयाे भनेर हर्कबढाइँ ।’ धत, के सुन्नु, मन नै दिगमिग हुने समाचार !

साँच्ची हाम्रा देशमा देशलाई माया गर्ने, नाम चलाउने, एकआपसमा सहयोग गरिएको, गरिब गुरुवाको प्रगतिमा काम भएको समाचार हुँदैन कि क्या हो ? उमेर र योग्यता अनुसार काम, मान मर्यादा, सिप विकास र प्रचारको समाचार नै बन्दैन ? पाका मानिसको ज्ञानको प्रचार, अनुभव आदानप्रदान र कम उमेरकाबीच उनीहरूलाई भेटाएर कुराकानी गरेर पुस्तान्तरण गर्ने चलन नभएको हो कि, समाचार नबनेको हो ? म त छक्क पर्छु, अगुवा भनाउँदा समाजलाई कता घुस्मुट्याउँदैछन् ? आफ्ना र ज्यालामा ल्याएकाहरू बीच दिनदिनै कुखुरा र साँढे जुधाएको जस्ता भिडन्तका समाचार पो दिन्छन् बा ! के भएको अहिले हाम्रो समाज ? आफ्नै हुकुम कायम गर्या छन् अनि आफ्नै लठुवालाई सरकारी सुरक्षाबलसँग भिडाउँछन् । आपसी सल्लाहका कुस्तीमा हामीले सकि नसकी तिरेको कर र नानाभाँती शुल्क जम्मागरि भरिएको ढुकुटी मास्न कत्ति लाज नलागेको किन होला ? जनता सबैको यस्तो मन पोल्ने नि समाचार हुन्छ ? छ्या, गर्नेभन्दा देख्ने सुन्नेलाई लाज । बरू भस्मासुरहरूका दन्तबजानको कुरा सुन्दै नसुन्यो आनन्द । यस्ता पत्रुका नाटक हेर्न म घर बाहिरतिर जान्न, देशको प्रगति सुनौँ भन्या त्याे पनि दिएनन् । यो सब त्यही उमेर अनुसार ज्ञान, क्षमता अनुसार जिम्बेबारीसँगै खास कारण र उमेरमा कामबाट अवकाश दिने चलन नबसालेर हो । त्यसैको फल लौरो टेकेर तीर्थबास जाने अगुवा भई टोपलेका र ऊर्जाशील बाटोमा भिडन्त गर्दै ठिक्क, अनि आदर, सतकार, मान, मनितो र व्यावहारिक इमानी नीतिनियम कसरी बसोस् ।

अहिलेको कुरा

नेपालको सन २०१९ को जनसंख्या आँकडा हेर्दा २५ लाख २१ हजार मानिस ६० वर्ष माथिका महिलापुरुष थिए र त्याे कुल जनसंख्याको ८.७ प्रतिशत थियो । त्यसै वर्ष गरिएको प्रक्षेपणमा सन २०५० सम्म त्याे उमेर समूहका ६५ लाख ६८ हजार अर्थात कुल जनसंख्याको १८.६ प्रतिशत हुनेछ । यसमा एकल ज्येष्ठ नागरिक करिब ४ प्रतिशत देखिन्छ । यसले देखाउँछ हाम्रो नेपाली समाज दिनदिनै ज्येष्ठ नागरिक बहुसङ्ख्यक हुने दिशातिर अघि बढदैछ । बिसौँ शताब्दीलाई सबै युवा वयस्कहरूको जाेस, जाँगर, सिप र ज्ञानमा आधारित भई विकास भइरहेको जनाउन ‘युवाहरूको शताब्दी’ भनिन्थ्यो । एक्काइसौँ शताब्दीलाई संसारभरि औषधिको बिकासले वयस्क तथा मातृशिशु अल्पआयुमै मृत्यु हुनेमा परिवर्तन भएको छ । अहिले त्यसैले नेपालीको सरदर आयु ७० वर्ष मानिन्छ भने शिशु मृत्युदर निकै कम छ । त्यसैकारण, ठूलो संख्यामा ज्येष्ठ नागरिक हुनेयस शताब्दीलाई ‘ज्येष्ठ नागरिकहरूको शताब्दी’ भनिएको छ । हो, यस्तै विभिन्न कारणले नेपालमा पनि ज्येष्ठ नागरिकका कुरा उठे, अझ विदेशीको कर, बल र सल्लाहमा । नेपालीको पहिला औसत उमेर ४२ वर्षबाट बढदै गएर ५०, ६० हुँदै अहिले ७० वर्ष सरदर आयु मानिन्छ । अब, डेढ दशक अघि ६० वर्ष सरदर आयु मानेको बेलामा ज्येष्ठ नागरिक भनिएको उमेर र अरू कुरा सबै क्षेतरमा लागू हुनुपर्याे । कि अवकाश पाउने उमेर बढाउनुपर्यो कि सरसुविधा सबै ६० वर्षदेखि नै लागू हुनुपर्याे । नभए त यो दोधारे चरित्रले ज्येष्ठ नागरिकलाई चिन्ता र अर्घेल्याइँ बाहेक केही अनुभव हुँदैन ।

उहिल्यै बनाएको सरकारी गैह्रसरकारी सेवामा अवकाशको उमेर नेपालमा ४६ देखि ६५ वर्ष थियो । अब, सरदर आयु नै ७० वर्ष भएको अवस्थामा त्यस्ता नियम फेर्नुपर्याे । अवकाश पाउँदा सबैले निवृत्तिभरण पाउँदैनन्, विभिन्न नियमको माखेसाङ्लोले कोही उपदान र कोही सेवा अवधि वर्ष गन्ने त्यति मासिक बराबरमा जयनेपाल गर्छन् । नियममा जुको जस्तै टाँस्सिने हो भने पेशाअनुसार सेवाबाट अवकाश हुने उमेरमा नै ज्येष्ठ नागरिक घोषित हुनु पर्याे । शारीरिक श्रम गर्नुपर्ने पेशाबाहेक अरूमा त अझ निजले काम गर्न सकुन्जेल र इच्छा गरुन्जेल काम गर्न पाउनु पर्याे । फेरि ज्येष्ठ नागरिक भनेपछि सबै पाउनुपर्ने सेवासुविधा तत्काल पाउन शुरू हुनुपर्याे । बेलाबेला लहडी कारोबारीले गरेजस्तो जुवाजितौरी बाँडेको जस्तो पनि गर्नुभएन र कञ्जुस छोरोले तिलको लड्डु जत्रो पिण्ड सेलाएझैँ पनि गर्नुभएन नि जिम्मेदार भनाउँदाले । कल्की लाइदिने ६० वर्षमा, पहेँला अक्षता छरेर भूत मन्साएझैँ अलिकति पैसो जीवनदान नै दिएझैँ हल्लागरी दिने ७० वर्ष भएपछि । फेरि सरदर आयु नै ७० वर्ष भनेपछि, अनि के ती पाका मानिस सरकारी सरदर उमेर माथि बाँच्न सक्छन् त ? नबाँचेकालाई दिने त पिण्ड नै होला ? सरकारी सरदर मर्ने उमेर नाघेपछि भत्ता दिने भनेको ‘बाँचेदेखि पिण्ड खान बाँच’ भन्या हो ?

सरकारले विदेशीहरूको सिको गर्न र आफूले पनि जनहित गरेको देखाउन दिने बृद्धभत्ता नामको त्याे रकम पनि पायक पर्ने ठाउँमा पाउन गाह्राे छ । अशक्त बृद्धसमेत स-शरीर जानुपर्ने, कति ठाउँ त्याे हण्डी बाँड्ने ठाउँ पाका मानिस बसेको ठाउँबाट दिनभरि हिँड्नुपर्ने छ । कतिपय पाका मानिस कि लेखपढमा कमजोर कि आँखाको समस्या भएका छन् । ती पाका मानिसले वयस्क हुँदा काम गर्दा तिरेका करबाट राजश्व जम्मा भई तनखा बुझ्ने कर्मचारीको रुखो र अव्यावहारिक क्रियाकलाप । अनि पाका मानिस त्याे सदावर्ते हण्डी सहज र सरल तरिकाले लिन नपाउने व्यवस्था । त्यसै भएर नेपालमा केही बाहेक धेरै पाका मानिसहरू भत्ताको सुविधाबाट पनि बञ्चित छन् । चुनावताका देखिने नाटकी उमेदवारको च्याँखे जितौरीजस्तो भाषण सुन्न मन गर्दैनन् । त्यही भत्ताको झटारो पनि नेता भनाउँदा आ-आफ्नो अनुकुल व्याख्या गर्छन् ।

विचार गरौँ त पाका मानिस नै चुनावजस्तो हाहाहुहुका साञ्चिकै मतदाता हुन् । कतिपय ठाउँ र समुदायमा उनीहरू नै निर्णायक विचारक हुन्छन् । किनकी ‘कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको’ भनि मान्ने मानिस अझै नेपालमा प्रशस्त छन् । पाका मानिसले नपत्याएका मानिसले चुनावमा जमानत जोगाउला त ? होस् गर्नू ।

के हामी दानपत्रमा बाँच्ने प्राणी हौँ र भन्या ? फेरि त्याे पाउने दानबाट आर्जित रकमले पाका मानिसले किनमेल गर्दा उल्टो कर तिर्छन् । उनीहरूले गर्ने किनमेलमा खोई ज्येष्ठ नागरिक छुट ? नियमित कमाउनेकै जति कर तिर्न नकमाउन पनि बाध्य किन छन् ? उनीहरूलाई छुट भए त हाम्रो नेपालको रैथाने संयुक्त परिवारको अवधारणा पनि भत्कने थिएन । परिवार सदस्यले पाका मानिसले सुपथ मोलमा सामान किन्न पाउने भएमा त्यही लोभमा परिवारले नै उनीहरू सँगै राख्थे । बृद्धाश्रम घँच्याड्ने सम्भावना कम हुन्थ्यो र पारिवारिक सदभाव कायम राख्न मद्दत पुग्थ्यो । सरोकारबालाले हाम्रो सामाजिक योगदानको कदर गरोस्, भिक्षा थाप्ने मगन्ते नठानियोस् । खै, उमेर अनुसार फुर्सद नहुँदानहुँदै यस्तो लाग्यो है त्याे भत्ताबारे, तपाईंलाई कस्तो लाग्छ ?

प्रतिक्रिया

2 thoughts on “बृद्धभत्ता : पहेँला अक्षता कि पिण्ड ?

  1. पाका मानिसको अवस्था र वर्तमान राज्य व्यवस्था बारे सटिक टिप्पणीकोलागि डा. मुकेश चालिसे प्रति आभार प्रकट गर्दछु।

    1. आभार मित्र चट्याँग जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *