हरेक ठाउँबाट बन्दको प्रतिकार गरौँ : रन्जु दर्शना


काठमाडौँ । नेतृ रन्जु दर्शनाले हरेक ठाउँबाट बन्दको प्रतिकार गर्नुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत बन्दको प्रतिकार गर्न आह्वान गरेकी हुन् ।
आज एमसीसी सम्झौता संसद्मा टेबल गर्ने तयारीको विरोधमा पाँच वटा साना कम्युनिस्ट पार्टी र एउटा मोर्चाले नेपाल बन्दको आह्वान गरेको छ तर, प्रभाव भने परेको छैन । यही सन्दर्भलाई लिएर विवेकशील साझा पार्टीकी पूर्व नेतृ रन्जुले बन्दको विकल्प खोज्न आग्रह गरेका हुन् ।
देशको अर्थतन्त्र डामाडोल हुन थालेको देख्नु छैन अनि ‘नेपाल बन्द’ भन्दै उनले प्रतिप्रश्न गरेकी छन् । ‘यो अर्थतन्त्र झर्दै गयो, नेपालीहरूको काम खोसिँदै गयो, आयआर्जन खस्क्यो भने नेपाल आफैँ बन्द हुन्छ, क्रान्तिको जरुरत नै पर्दैन,’ उनले भनेकी छन् ।
नेताहरूले कहिल्यै उत्पादनका साधन र उत्पादन शक्ति बारे कुरा नगरेको उनको आरोप छ । ‘खोक्रो राष्ट्रवादले कहिल्यै उत्पादनका साधन र उत्पादन शक्ति बारे कुरा नगर्ने भो ! जहिल्यै विदेशीले देश खान लाग्यो भन्यो सोझा नेपालीलाई तर्सायो !,’ उनले अगाडि भनेकी छन्, ‘हरेक ठाउँबाट बन्दको प्रतिकार गरौँ । आफ्नो व्यावसायिक काम सञ्चालन गरौँ ।’
