एमालेले माग्याे स्वास्थ्यमन्त्री खतिवडाकाे राजीनामा


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेले स्वास्थ्यमन्त्री विराेध खतिवडाकाे राजीनामा मागेकाे छ । एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख याेगेशकुमार भट्टराईले विज्ञप्तिमार्फत स्वास्थ्यमन्त्री खतिवडाले झुटाे बाेलेकाे औंल्याउँदै उनकाे राजीनामा माग गरेका हुन् ।
यसअघि मन्त्री खतिवडाले आफूले केपी शर्मा ओली नेतृत्वकाे सरकारकाे पालामा ५ हजार तिरेर खाेप लगाएकाे बताएका थिए । उनकाे उक्त अभिव्यक्ति झुटाे भएकाे भन्दै एमालेले मन्त्री खतिवडाले तत्काल राजीनामा दिनुपर्ने बताएकाे हाे ।
एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ । एमालेले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’
खतिवडा स्वास्थ्यमन्त्री बनेपछि २४ लाख डाेज खाेप हराएकाे तथ्याङ्कले देखाएकाे छ । यसपछि उनकाे तीव्र आलाेचनासमेत हुँदै आएकाे छ ।
