कोरोना संक्रमण दर हालसम्मकै उच्च, झण्डै ७३ हजार सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । कोरोनाको तेस्रो लहर शुरू भए यताकै यो संक्रमण दर सबैभन्दा उच्च हो । शुक्रबार पीसीआर विधिबाट संक्रमण दर ४६.३ प्रतिशत थियो । शनिबार थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । एन्टिजेन विधिबाट भने संक्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ । समग्रमा संक्रमण दर ४६.३ प्रतिशत छ ।

नयाँ संक्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् ।

शनिबार १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ८ लाख २० हजार २८३ जना संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर घटेर ९०.७ प्रतिशत पुगेको छ । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *