ग्वार्कोमा बन्ने भयो फ्लाइओभर

ललितपुर। ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एमरएस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ ।

सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो । उनका अनुसार फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने नौ कम्पनीमध्ये १७ करोड रुपियाँमा एम÷एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो ।

प्रस्तावित ठेक्का रकमभन्दा ३८ प्रतिशत कम रकममा ठेक्का लागेको हो । ठेक्काका लागि आठवटा कम्पनी आर्थिक प्रतिस्पर्धामा थिए । १५ दिनभित्र ठेक्का सम्झौता भई काम प्रारम्भ हुने जनाइएको छ । फ्लाइओभरको ड्रोइङ तथा डिजाइन निर्माण कम्पनीले नै गर्नेछ ।

यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिन लागेको हो । यसका लागि चार महिना छुट्याइएको छ । सवारीसाधनका लागि फ्लाइओभर बनेपछि ट्राफिक जाम कम हुन्छ ।

काठमाडौँ उपत्यकाका सडकमा यातायात व्यवस्थापनका लागि २० स्थानमा फ्लाइओभर निर्माण आवश्यक रहेको सडक विभागले जनाएको छ । केन्द्रका निर्देशक झाका अनुसार त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, शहीदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोङ्गबु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जडीबुटी, बल्खुलगायत स्थानमा फ्लाइओभर आवश्यक छन् । गोरखापत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *