उपरथी कार्कीको उजुरीले सैन्यवृत्तमा हलचल

काठमाडौँ । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो ।

उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन् । बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको पुरानो सम्बन्धका कारण उपरथी कार्कीले प्रधान सेनापतिको सिफारिसविरुद्ध उजुरी दिएका हुन् । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदा उनी केही वर्षअघि एडीसी थिए । त्यही आधारमा उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हुन सक्ने स्रोतको दाबी छ ।

उपरथी कार्कीले अन्याय भएपछि आफूले प्रधानमन्त्रीसमक्ष उजुरी दिएको प्रतिक्रिया दिएका छन् । कुनै विकल्प नभएपछि प्रधानमन्त्रीसमक्ष उजुरी दिनु आफ्नो बाध्यता रहेको उनको भनाइ छ । उपरथी कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि उजुरीको बोधार्थ दिएका छन् ।

नेपाली सेनाका तीन उपरथीमध्ये पहिलो नम्बरमा कार्की छन् । दोस्रो र तेस्रोमा क्रमशः सीताराम खड्का र तारा पाण्डे छन् । प्रधानसेनापति शर्माले कार्कीलाई पन्छाएर खड्का र पाण्डेको पदावधि थपको सिफारिस गरेपछि पदावधि थप्ने विषयमा देखिएको विवाद सतहमा आएको हो ।

प्रधानसेनापति शर्माले गत १६ पुसमा खड्का र पाण्डेको पदावधि थपका लागि रक्षा मन्त्रालयमा पत्र पठाएको भए पनि त्यस विषयमा अहिलेसम्म निर्णय भएको छैन । प्रधानसेनापति शर्माले पठाएको सिफारिसलाई ३० पुसको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । तर, वरीयताको कुरा उठेपछि त्यस दिन निर्णय हुन नसकेको स्रोतको दाबी छ ।

राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालय जगनाथ देवलमा कार्यरत उपरथी कार्कीको पदावधि थप नभए उनी २५ माघमा अनिवार्य अवकाशमा जानेछन् । प्रधान सेनापतिपछि चौथो वरीयतामा रहेका उनी पदावधि थप भएको अवस्थामा आठ महिनापछि रथीमा बढुवा हुनेछन् । ५८ बर्से उमेर हदका कारण आठ महिनापछि रथी बालकृष्ण कार्की अवकाशमा जाने हुँदा हुने हुँदा बालकृष्णको ठाउँमा उनी बढुवा हुने थिए ।

सैनिक ऐन र नियमावलीमा उपरथीको अवधि तीन वर्षको भए पनि दुई वर्ष थपिने व्यवस्था छ । यद्यपि कसको पदावधि थप्ने भन्ने सिफारिस गर्ने अधिकार प्रधान सेनापतिलाई हुन्छ । उपरथीको पदावधि तीन वर्ष र उमेर हद ५७ वर्ष भए पनि कार्की अहिले ५५ वर्ष पुग्दै छन् । बढुवा भए पनि उनी सैनिक नेतृत्वमा भने पुग्न सक्दैनन् ।

के छ उजुरीमा ?
उपरथी कार्कीले ‘नेपालको संविधान, कानुन, विधिको शासन, मानवअधिकार, सैनिक सुशासन, सैनिक मूल्य मान्यताविपरीत विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रह र बदनियत राखेर मभन्दा जुनियर दुई जनाको पदावधि थपको सिफारिस गर्ने कार्य गैरकानुनी छ,’ भनेर उजुरीमा उल्लेख गरेका छन् । उनले पदावधिजस्तो वृत्ति विकासमा मनोमानी, स्वेच्छाचारी ढंगले गरिने सबै निर्णय गैरकानुनी भएको पनि दाबी गरेका छन् ।

‘मेरो पदावधि थप नगरेको सिफारिसपत्र मेरो २०७७ सालको कार्यसम्पादन मूल्यांकनविपरीत छ,’ उनले उजुरीमा भनेका छन्, ‘कार्यसम्पादन मूल्यांकन उजुरीसँगै समावेश गरेको छु ।’ कार्कीले आफू आफ्नो असक्षमता वा यी सबै प्रकरणबारे खोजेर दोष देखाइदिन चुनौती पनि दिएका छन् । -राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *