स्वास्थ्य निर्देशनालयले पोस्ट गरेको ‘भाइरल’ तस्बिरको वास्तविकता

पोखरा । मुलुकभर कोरोना सङ्क्रमित बढिरहेका बेला प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा एउटा तस्बिर पोस्ट गर्दै तस्बिरबारे लेख्यो- ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ ।’

मुलुकभर कोरोना सङ्क्रमित बढिरहेका बेला सरकारले अहिले खोप अभियानलाई तीव्रता दिइरहेको छ । यहीबेला सरकारले बुस्टर डोज पनि सञ्चालन गरिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिर खोप अभियानसँगै सम्बन्धित रहेको भनिएको छ ।

माघको महिना । जताततै चिसो । कतिपय ठाउँमा त कठ्याङ्ग्रिँदो चिसो र हिउँले जनजीवन नै प्रभावित भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले पोस्ट गरेको खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको यो तस्बिर अहिले भाइरल भइरहेको छ । तस्बिरमा एक महिला स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको देखिन्छ । यस्तो कठ्याङ्ग्रिँदो चिसो र हिउँको समेत पर्बाह नगरी स्वतथ्यकर्मीहरू आफ्नो पेसामा कतिसम्म दत्तचित्त हुन्छन् भन्ने सन्देश दिन खोजिएको भान हुन्छ ।

प्रतिक्रियाको बाढी नै आउन थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले तस्बिरबारे थप जानकारीसमेत दिएको छ । तस्बिरमा देखिएकी युवती स्वास्थ्यकर्मी अनमी प्रेमकुमारी केसी भएको र रणसिंहकिटेनी हेल्थपोस्ट स्वाचौं, बागलुङमा कार्यरत रहेको सूचना थप गरिएको थियो ।

तर, प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जुन तस्बिर पोस्ट गरेको छ, त्यो तस्बिर अहिलेको होइन । तस्बिर जुन महिलाको हो, तिनै महिलाले यो तस्बिर अहिलेको नभई तीन वर्षअघिको भएको प्रतिक्रियासमेत दिइसकेकी छन् । त्यसैले प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले सस्तो लोकप्रियताका लागि यो काम गरेको सहजै भन्न सकिन्छ ।

अब जानौँ ‘भाइरल’ बनेको यो तस्बिरको यथार्थता । यो तस्बिर तीन वर्षअगाडिको अनमी प्रेमकुमारी केसीको हो । त्यतिबेला उनी रणसिंहकिटेनी हेल्थपोस्टमा कार्यरत थिइन् । अहिले भने छैनन् । उनी अहिले बागलुङकै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । यो तस्बिर केसीकी सहकर्मी निशा पुनले खिचेकी हुन् ।

तस्बिरको यथार्थताबारे केसीले मुख खोल्दै भनेकी छन्, ‘यो तस्बिर निशा पुनले खिचेकी हुन् । त्यसबेला उनी हेल्थपोस्टको इन्चार्ज थिइन् । हामी दुई जना बागलुङको बडीगाड गाउँपालिका–८ बाट त्यहाँको दुर्गम भेग नेपाने गाउँमा जाँदै थियौँ । यो तस्बिर त्यतिबेला भ्याक्सिन लैजाँदाको हो । त्यतिबेला हामीलाई नेपाने गाउँमा भ्याक्सिन पुर्‍याउन हिउँका कारण धेरै अप्ठेरो भएको थियो । हेल्थटुलमा मैले बोकेको भ्याक्सिन रेगुलर इम्युनाइजेसन भ्याक्सिन हो ।’

उनले आफू कार्यरत हेल्थपोस्टबाट झन्डै घण्टाको बाटो हिँडेर नेपाने गाउँ पुगेको पनि सम्झिइन् । रणसिंहकिटेनीमा हिउँदको बेला अहिले पनि स्वास्थ्यकर्मी त्यसरी नै स्वास्थ्य सामग्री लैजाने गरेको उनले सुनाइन् ।

उता, पुरानो तस्बिरलाई अहिलेको परिस्थितिमा पोस्ट गरेको भन्दै चर्को आलोचना भएपछि प्रदेश स्वास्थ्य कार्यालय गण्डकीले स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने उद्देश्यले सो तस्बिर पोस्ट गरिएको स्पष्टीकरण दिएको छ ।

निर्देशनालयका प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बडिगाड हेल्थपोस्टकै आग्रहमा आफूहरूले फोटो राखेको बताए । उनले सो तस्बिर अहिलेको नभएको पनि प्रस्ट पारे । -राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *