जाडो भयो ? सरकारलाई भन्नूस्

काठमाडाैँ । जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ । साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान् । आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ । वर्षे विपत्ले बल्लबल्ल धानिएको ढुङ्गा, खर र टिनको छानामा चिसो शीत र हिउँले जब हिर्काउन थाल्छ । मुटुमै जाडो गढ्छ । यस्तोमा कसलाई भन्ने ?

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, “जाडो भयो भने सरकारलाई भन्नुस्, जससँग केही हुँदैन उसका लागि सरकार छ ।” जाडो भएर कठ्याङ्ग्रिएर कोही छरछिमेकमा बसेको देखेमा समुदायले उसका लागि पहल गरिदिन उनले आग्रह गरे । उनका अनुसार देशका ७५३ स्थानीय सरकारले जाडो होस् अन्य विपत् जनताको जिउधन जोगाउने जिम्मा लिएको छ । सरकारले भूकम्प, बाढी, पहिरो, आगलागी, असिनापानी, हुरीबतास, चट्याङ, शीतलहर, हिमपातलगायतका विपत्का कारणबाट भएका पीडितलाई राहत सहयोग दिँदै आएको छ । सम्भावित शीतलहर तथा हिमपात जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७ अनुसार यस्ता राहतको व्यवस्थापन गरिएको छ ।

प्रवक्ता भट्टराईका अनुसार जाडोका समयमा जसको घरमा ओढ्ने ओछ्याउने छैन, आङ ढाक्ने न्यानो कपडा छैन त्यसको विवरण स्थानीय तहका जनप्रतिनिधियुक्त सरकारले सङ्कलन गर्छ । तसर्थ पहिले आफ्नै नजिकको सरकारलाई भन्नुपर्छ । किनभने जनताको सबैभन्दा नजिकको सरकार नै स्थानीय सरकार हो । कुनै कारणवश भन्न नसकेको खण्डमा हरेक जिल्ला प्रशासन कार्यालयमा विपत् व्यवस्थापन समिति हुन्छ । उसले पनि विभिन्न स्रोतबाट राहतको व्यवस्थापन गरिरहेको हुन्छ । समितिमा निवेदन परेको खण्डमा समन्वय गरेर जाडो न्यानो बनाउन सकिन्छ । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *