अस्पताल भर्ना हुने संक्रमित थपिए

काठमाडौँ । दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो संख्या बढेर ६५ पुगिसकेको छ ।

युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देखिन थालेपछि बिरामीको उपचारमा समेत समस्या परेको जानकारी दिँदै उनले २४ घण्टाको अन्तरालमै ३२ जना सङ्क्रमित भर्ना हुनुलाई सकारात्मक लिन नमिल्ने बताए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोभिडका बिरामी बढ्न थालेका छन् । अस्पतालकी निर्देशक डा. मनिषा रावलले केही दिनयता अस्पतालमा कोभिडका बिरामी बढ्न थालेको जानकारी दिइन् । बिरामी बढ्न थालेपछि कोभिड र ननकोभिडका बिरामीको उपचार कसरी गर्ने भनेर आकस्मिक छलफल भएको जानकारी दिँदै उनले केही हप्ता कोभिडका बिरामी बढ्न सक्ने बताइन् ।

करिब एक साताअघि आउने सङ्क्रमितमा अस्पताल भर्ना गराउनुपर्ने बिरामी नभएको जानकारी दिँदै उनले पछिल्लो समय कोभिडका बिरामी बढ्न थालेको बताइन् । अस्पतालको आकस्मिक कक्षमा हाल दैनिक १५/२० जना सङ्क्रमित आउने गरेको जानकारी दिँदै उनले तीमध्ये सरदर पाँच जना भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको बताइन् । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *