उपत्यकामा उच्च सतर्कता

काठमाडौँ । उपत्यकामा कोरोनाको नयाँ लहरले सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि यहाँका स्थानीय तहले उच्च सतर्कता अपनाएको दाबी गरेका छन् । अहिले देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य भएको र जटिल अवस्था सिर्जना भई स्वास्थ्य संस्थाले उपचार गर्न नभ्याए अस्थायी आइसोलेसन निर्माण गरी नागरिकलाई जोखिमबाट बचाउने तयारीमा स्थानीय तह छन् । अहिले परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढी सङ्क्रमित उपत्यकामा देखिँदै आएका छन् ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना सङ्क्रमित थप बढ्दै गए यसअगाडि सञ्चालनमा आएको सामाखुसीको आइसोलेसन सेन्टरलाई महानगरपालिकाले पुनः सञ्चालनमा ल्याउने बताए।

उक्त आइसोलेसन सेन्टर महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा निर्माण भएको हो । ‘कोरोनालाई हेलचेक्र्याईं नगर्न महानगरपालिकाले सधैँ आमनागरिकलाई सचेत गराउँदै आएको छ,’ उनले भने, ‘आमनागरिकको स्वास्थ्य नै पहिलो सम्पत्ति हो । व्यक्ति स्वस्थ रहे अन्य काम पछि पनि गर्न सकिन्छ ।’

उनका अनुसार महानगरपालिकाले विभिन्न सामुदायिक अस्पतालमा भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान गरेको छ । तत्काल अस्पताल निर्माण गर्न नसकिए पनि काठमाडौँभित्रका विभिन्न सामुदायिक अस्पताललाई महानगरपालिकाले स्वास्थ्य उपकरण प्रदान गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिनसमेत उनले सबैसँग आग्रह गरे।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कोरोनाको तेस्रो लहरबाट बच्नका लागि ललितपुर महानगपालिकाले उच्च सतर्कता अपनाएको बताए। उनका अनुसार ललितपुर महानगरपालिकामा वडा नं. ४ स्थित बागडोलमा ११० शय्याको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा छ ।

कतिपय सङ्क्रमितले अहिले त्यहीँबाट सेवा लिइरहेका छन् । उक्त आइसोलेसनमा बिरामीलाई चार छाक सन्तुलित आहारको समेत व्यवस्था महानगरपालिकाले गरिरहेको छ । उनले भने, ‘उक्त ११० शय्या आइसोलेसन भरिने अवस्था भयो भने महानगरपालिकाले अर्को व्यवस्था गर्न तयारी गरिरहेको छ ।’

कोरोनाका सङ्क्रमित र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको नियमित रूपमा पीसीआर गर्ने कार्य गरिरहेको र महानगरभित्र रहेका विद्यालयस्तरमा ४४ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने लक्ष्यसाथ अहिले धमाधम खोप सेवा सञ्चालन भइरहेका छन् ।

यसअघि खोप लगाउन छुटेका व्यक्तिलाई पनि खोप प्रदान गर्ने कार्य जारी रहेको प्रमुख महर्जनले बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए ।

उनका अनुसार भक्तपुर नगरपालिकाभित्र अहिले एक लाख ४१ हजार ३३९ मात्रा खोप प्रदान गरिएको छ । अहिले पनि खोप लगाउने कार्यलाई उच्च प्राथमिकता दिइएको छ । गोरखापत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *