सन्दर्भ : भूकम्प सुरक्षा दिवस

‘नेपालको पश्चिमी क्षेत्र ठूलो भूकम्पको जोखिममा’

काठमाडाैँ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

छ वर्षअघिको भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण जारी छ । पुनःनिर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे अवधि सकिए पनि पुनःनिर्माण भने सकिएको छैन । सम्बन्धित विभागबाट क्षति पुगेका संरचनाको पुनःनिर्माण जारी छ । भूकम्पले भवन भत्किएर क्षति नपुगोस् भनी जनचेतना जगाउन भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । विभागका महानिर्देशक पद्मकुमार मैनालीले पश्चिम नेपालमा ५०० वर्षअघिदेखि ठूलो भूकम्प नगई शक्ति सञ्चय भएकाले त्यस क्षेत्रमा बढी चेतना जगाउन आवश्यक भएकामा जोड दिए ।

दाङबाट पश्चिमका जिल्लामा निर्माण हुने संरचनामा विशेष ध्यान दिएर विभागले काम गरिरहेको उनले बताए । भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहेका मैनालीले तीनै तहका सरकार मानिसको जीवन रक्षाका लागि जनचेतना जगाउन लागिपरेको बताए । चेतना जगाउने उद्देश्यअनुरूप विसं २०५७ देखि नै विभागले घर निर्माणमा संलग्न हुने प्राविधिकलाई तालिम दिन सुरु गरेको छ ।

भूकम्पले भवनमै क्षति पुग्ने र त्यसले मानिसको जीवन लिने भएकाले दिवसका माध्यमबाट चेतना जगाउन विभाग लागिपरेको उपमहानिर्देशक रामचन्द्र दङ्गालले बताए । दिवसको मूल कार्यक्रम यस वर्ष पाटन दरबार क्षेत्रमा गरिने भएको छ। कार्यक्रममा प्रधान मन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वले सम्बोधन गर्नेछन् । गत वर्ष भक्तपुर दरबार क्षेत्रमा यो दिवसको कार्यक्रम आयोजना गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भोजराज खतिवडाले सरकारले कोरोनाको नयाँ स्वरूप ओमिक्रोनबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर पाटन दरबार क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका झाले ४० वर्ष अघिदेखि भूकम्पका अभिलेख रहेको बताइन् । यसको अध्ययन अनुसन्धानबाट काम गरिरहेको उनको भनाई थियो ।

उपसमितिका सदस्य सचिवसमेत रहेका राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल (एनसेट) का निर्देशक डा. गणेश जिमीले दिवसको तयारी अन्तिम चरणमा पुगेको बताए । यस अवसरमा पुस १५ गतेदेखि नै विभिन्न चेतनामूलक कार्यक्रम शुरु भइसकेको छ । आगामी माघ १५ गतेसम्म दिवसका कार्यक्रम देशभर गरिने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *