लिपुलेकमा सडक नबनाउन भारतलाई नेपाली कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरिरहेकोबारे सत्तारुढ दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा सडक विस्तार गर्ने काम तत्काल रोक्न भारत सरकारलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल भारत संयुक्त आयोगमा दुई देशबीचका सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्नेगरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण गरिएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

विज्ञप्तिमा लिपुलेक लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो भन्नेमा कांग्रेस स्पष्ट रहेको, यो भूगोलमा नेपालको भोगाधिकार कायम रहनुपर्ने, कालापानीबाट भारतीय सेना हट्नुपर्ने, दुई देशबीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासक तथ्यका आधारमा हुनुपर्ने र सन् १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा पनि कांग्रेस स्पष्ट रहेको उल्लेख गरिएको छ ।

भारतले नेपाली भूमिमा सडक विस्तार गरिरहँदा सरकारले भने अझै केही बोलेको छैन । तर सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन-विश्वप्रकाशले संयुक्त विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *