एमाले भन्छ:

‘प्रधान मन्त्री अब निन्द्राबाट ब्युँझनुपर्छ’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ६ महिनासम्म सरकार निकम्मा बसेको टिप्पणी गरेका छन् । शुक्रबार (आज) रिपोटर्स क्लबमा पत्रकारहरूसँगको साक्षात्कारमा ज्ञवालीले भने, ‘सरकार यो ६ महिनासम्म निकम्मा बस्यो । यत्ति निकम्मा कि— सरकार नेपाली भूमि खनिँदासम्म बोल्दैन, नेपाली नागरिक नदीमा फालिँदासम्म बोल्दैन । सरकारले एउटा सानो कूटनीतिक पहलसम्म गर्दैन, भारत सरकारले नेपाली भूभाग मनाेमानी रूपमा खनिरहेकाे छ ।’

गठबन्धनको सरकार बनेपछि देशले राजनीतिक क्षति ब्यहाेर्नुपरेकाे ज्ञवालीको तर्क छ । ‘जसरी यो सरकार बन्यो । जसरी असार २८ गते सर्वोच्च अदालतले परमादेश दियो र गठबन्धनको सरकार बन्यो, यसको सिङ्गो क्षति मुलुकले ब्यहोरिरहेको छ । सरकारले काम नगर्दा समस्या भएकाे छ । सरकार निदाउँदा समस्याहरू सुल्झिएका छैनन्,’ ज्ञवालीले भनेका छन् ।

ज्ञवालीले गठबन्धनका अन्य दलहरूप्रति एमालेको कुनै टिप्पणी नभएको भन्दै प्रधान मन्त्री भने निन्द्राबाट ब्युँझनुपर्ने बताए । ‘अब हामी यत्ति भन्छौँ, प्रधान मन्त्रीज्यू ब्युँझिदिनुस् । उहाँ निदाउनुभएकाे छ ।’

यस्तै एमालेले भण्डारण भएको खोपसमेत सरकारले लगाउन नसकेको बताएको छ । ज्ञवालीले भने, ‘हाम्रो सरकार हुँदादेखिका झन्डै १ करोड डोज खोप भण्डारण भएका छन् । तर, सरकार त्योसमेत लगाउन सक्दैन । त्यसकै कारणले अहिले कोरोना तीव्र रूपमा फैलियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *