परीक्षण गरिएको नयाँ क्षेप्यास्त्र हाइपरसोनिक भएको उत्तर कोरियाको दाबी

एजेन्सी । उत्तर कोरियाले देशका सर्वोच्च नेता किम जोङ उनको निगरानीमा अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार मंगलबार क्षेप्यास्त्र परीक्षण गरिएको थियो र मिसाइल एक हजार किलोमिटर टाढा आफ्नो लक्ष्यमा खसेको थियो ।

उत्तर कोरियाले तेस्रो पटक ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको नजरबाट बच्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । किमको नयाँ वर्षको भाषण पछि एक हप्ता भित्र, देशले दुईवटा मिसाइल परीक्षण गर्‍यो । दक्षिण कोरिया र जापान दुवैले उत्तर कोरियाले मंगलबार गरेको मिसाइल प्रक्षेपण पत्ता लगाएको बताएका छन् । यो मिसाइल उत्तर कोरियाको जमिनबाट समुन्द्रतर्फ प्रहार गरिएको थियो ।

केसीएनएका अनुसार यो “अत्यन्त उच्च गति” मा हान्न सक्षम हाइपरसोनिक मिसाइल थियो । यसअघि उत्तर कोरियाले जनवरी ५ मा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको थियो । त्यसबेला अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको आलोचना गरेका थिए र उसलाई ‘त्यसको अस्थिरताका गतिविधिहरू’ बन्द गर्न भनेका थिए ।

ब्यालेस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइलले वायुमण्डलको तल्लो तहमा उच्च गतिमा उड्दा आफ्नो लक्ष्यमा प्रहार गर्न सक्छ । तिनीहरू ध्वनिको गतिभन्दा पाँच गुणा अर्थात् ६,२०० किलोमिटर प्रतिघण्टाको गतिमा जान सक्छन् । केसीएनएले साझा गरेको तस्बिरमा किम जोङ उन अधिकारीहरूसँग मिसाइल परीक्षण हेरिरहेको देखिन्छ । मार्च २०२० पछि यो पहिलो पटक हो कि किम जोङ-उनले आधिकारिक रूपमा मिसाइल प्रक्षेपण कार्यक्रममा भाग लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *