सुनको माछा र सिक्री चढाइने तीर्थ देवताल

बैतडी । न्याय अन्याय छुट्टयाउने देवताका रूपमा परिचित बैतडीको देवताल मन्दिरको तलाउमा सुन चढाएर मनोकामना पूरा गर्न नेपाल-भारत दुवै देशका नागरिक आउने गरेका छन् । पञ्चेश्वर गाउँपालिका-४, स्थित महाकाली नदी किनारमा रहेको देवतालको शक्तिशाली देवताका रूपमा शताब्दीयौँदेखि पूजा हुँदै आएको छ। देवताललाई गडवालिङको प्रमुख सेनापतिका रूपमा प्रख्यात रहेको स्थानीय पुजारी चन्द्रदेव भट्ट बताउँछन्।

पुजारी भट्टले भने, ‘मनोकामना पूरा होस् भनेर यहाँ नेपालका मात्रै होइनन्, भारतबाट समेत हजारौँ तीर्थालु सुनका माछा र सुनको जनै बनाएर तलाउको पानीमा चढाउन आउने गरेका छन् । कसैले त एक दुई तोलासम्म सुन चढाउने गरेका छन्।  कहीँ न्याय नपाएमा देवगणलाई गुहार्ने चलनसमेत रहेको छ।’

देवतालको धार्मिक महत्त्व नेपाल-भारत दुवैतर्फ उत्तिकै रहेको छ। यहाँ व्रतबन्ध गर्नसमेत आउने गरेका छन् । देवतालमा बाजागाजा बजाउने र बलि दिने काम हुँदैन। देवतालमा रातो अबिर र ध्वजा पनि नचढ्ने पुजारीको भनाइ छ।

देवतालमा जुत्ता-चप्पल लगाएर जान नहुने जनविश्वास रहेको छ। देवतालको महिमाबारे पुजारी भट्ट भन्छन्, ‘देवताल गणमेश्वर देवताको पाउ र सेनापतिका रूपमा चिनिन्छ। गणमेश्वर देवताको शिर चमडामा, शरीर बिजुलमा, दायाँ हात बन्नामा, बायाँ हात भारतको पिथौरागढ जिल्लाको रुममा र पाउ देवतालमा रहेको विश्वास गरिन्छ ।’

देवतालका मुख्य पुजारी स्थानीय सैलाडी भट्ट र बिजुले भट्ट रहने गरेका छन् । देवताल मन्दिरमा चैत नवरात्रिमा मुख्य पूजा हुन्छ भने माघेसङ्क्रान्ति र साउने सङ्क्रान्तिमा मेला लाग्ने गरेको छ ।

देवतालको दर्शन गर्न भारतीय भक्तजन महाकाली नदीमा डुङ्गा तरेर आउने गरेका छन् भने नेपालतर्फ देवतालसम्म सुदूरपश्चिम प्रदेश सरकारको पहलमा मोटर बाटो पुयाइएको छ। देवताल दर्शन गर्न आउने भक्तजनका लागि वासस्थानको व्यवस्थासमेत गरिएको पञ्चेश्वरका स्थानीय जय चन्दले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *