सुरक्षा चाहियो भनेर फोन गर्छन्, जाँदा काेही भेटिँदैन : गृहमन्त्री खाँण

पोखरा। गृहमन्त्री बालकृष्ण खाँणले शान्ति सुरक्षा प्रत्याभूतिका लागि नागरिक स्तरबाट सहयोग पाएको बताएका छन् । अधिकांश सूचनाका आधारमा सुरक्षाका लागि पुग्ने गरे पनि केही सूचना भने गलत भएर दुख पाइने गरेको बताए ।

‘अहिलेको नयाँ प्रविधिले, खास गरेर मोबाइल टेलिफोनहरूले सुरक्षामा केही चुनौती पनि थपिएका छन् । सही समयमा सूचना प्राप्त गरेर मद्दत पनि पुगेको छ,’ उनले भने, ‘पब्लिकले सुरक्षा चाहियो भनेर धेरै फोन गर्छन् । सूचना पाएपछि जाँदा धेरै ठाउँमा दुख पाइएको छ । कतिपय ठाउँमा फोन आउँछ जाँदा कोही पनि भेटिँदैन । यो प्रवृत्ति बिस्तारै घट्दै जालान्, टेलिफोन गर्ने रहर पनि धेरैलाई हुन्छ ।’

उनले सुरक्षा निकायको परीक्षणका लागि पनि फोन गरेको हुन सक्ने तर्क गरे । ‘कहिलेकाहीँ सुरक्षा निकाय कत्तिको टाठा छन्, समयमा आउँछन् कि आउँदैनन् भनेर परीक्षण गर्न पनि बोलाउँछन् । जाँदा कोही पनि भेटिँदैन । यसले गर्दा जहाँ सुरक्षा आवश्यक छ, त्यहाँ पुग्दैन । तर हामीले चाहिँ सुरक्षा निकायलाई गरेको भरोसा मानेका छौँ,’ उनले थपे । उनले पोखरालाई २४ सै घण्टा खोल्न आफूले पहल गरेको बताए ।

‘पर्यटकलाई घुम्न बोलाउने अनि होटलवालाले घण्टा हिसाब गरेर ढोका थुन्ने गर्नु राम्रो होइन । सुरक्षाको प्रत्याभूति सरकारले गर्छ । होटल रेष्टुराँ सधैँ खुल्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षाको प्रबन्ध मिलाउन मैले भनिसकेको छु ।’

सधैँ होटल रेष्टुरेण्ट खोल्नका लागि कार्यदल बनेको र उक्त कार्यदलको बैठक छिट्टै पोखरामा बस्ने खाँणले बताए । उनले एमसीसी सर्वसम्मतिमै पास हुने पनि दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *